कृषिमा आत्मनिर्भर हुन नेपाली उत्पादन खाने र लगाउने अभियान चलाऔँ : पवन गोल्यान

Heading3 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

बैंक तथा बित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिजन्य वस्तु उत्पादन गरेर निर्यात गर्ने युवाहरूलाई बैंकमार्फत सहुलियतपूर्ण कर्जा दिने प्रतिबद्धता जनाएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष गोल्यानले यस्तो प्रतिबद्धता जनाएका हुन्।

नेपाली कृषिजन्य उत्पादनहरू भारतले नेपालबाट आयात गरेर आफ्नो ब्रान्ड बनाएर खाडी मुलुकमा निर्यात गर्ने गरेको भन्दै उनले नेपाल आफैँले ब्रान्ड बनाएर खाडी मुलुकमा निर्यात गर्न सक्नुपर्ने बताए। भारतले नेपाली अलैँची ७ सय रुपैयाँमा आयात गरेर खाडी मुलुकहरूमा १७ सय भारुमा निर्यात गर्ने गरेको उल्लेख गरे।

‘नेपाललाई परिर्वतन गर्ने कसैले होइन युवाले हो। युवा भविष्य होइन वर्तमान हुन्। युवाहरूले सबैभन्दा पहिला सोचमा परिर्वतन ल्याऔँ। हामीले बजारमा सामान किन्न जाँदा नेपाली उत्पादनलाई किन्यौँ। सबैभन्दा पहिला आफ्नो पालिकाको उत्पादनलाई प्राथमिकता दिनुस्। त्यसपछि जिल्लाको उत्पादनलाई प्राथमिकता दिनुस्। जबसम्म नेपालमा उत्पादन भएको वस्तुलाई प्राथमिकता दिँदैनौँ । तबसम्म आत्मनिर्भर बन्न सक्दैनौं,’ गोल्यानले भने।

अध्यक्ष गोल्यानले नेपाल कृषिजन्य उत्पादनमा आत्मनिर्भर हुनका लागि हरेक नेपालीले नेपाली उत्पादनलाई प्राथमिकता दिएर लगाउन र खान आवश्यक रहेको औँल्याए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp