गत आर्थिक वर्ष २०८२/८३ मा मधेश प्रदेशमा आर्थिक मन्दीलगायतका कारण १ हजार ९३८ उद्योग तथा व्यवसाय बन्द भएका छन्। प्रदेश सरकारको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयका अनुसार उद्योगतर्फ ८२१ र वाणिज्यतर्फ १ हजार ११७ व्यवसायको लगत कट्टा भएको हो।
यद्यपि, सोही अवधिमा प्रदेशमा ५ हजार ६८ नयाँ उद्योग दर्ता भएका छन्। पर्सामा सबैभन्दा धेरै १ हजार १०१ उद्योग दर्ता भएका छन्। धनुषामा ७७७, बारामा ६३९, सर्लाहीमा ६३६, सिरहामा ५५४, रौतहटमा ५३३, महोत्तरीमा ५१४ र सप्तरीमा ३१४ उद्योग दर्ता भएका छन्। यस अवधिमा ७ हजार ५४० उद्योग नवीकरण भएका छन्।
मन्त्रालयका सूचना अधिकारी उपेन्द्रकुमार महतोका अनुसार वाणिज्यतर्फ ६ हजार १२२ प्राइभेट फर्म र १८ साझेदारी फर्म नयाँ दर्ता भएका छन् भने ११ हजार १४४ वटा फर्म नवीकरण भएका छन्।
नयाँ उद्योग तथा वाणिज्य दर्ता, नवीकरणलगायत शीर्षकबाट प्रदेश सरकारले ५ करोड २६ लाख ४९ हजार ५६२ रुपैयाँ राजस्व संकलन गरेको छ।
महतोका अनुसार विश्वव्यापी आर्थिक तरलता, बैंक तथा वित्तीय संस्थाबाट कर्जा लगानीमा कमी, पूँजीको अभाव र स्थानीय तहबाट समेत उद्योग दर्ता गर्ने क्रम बढेकाले प्रदेशमा उद्योगको लगत कट्टा हुने संख्या बढेको हो।