११ भदौ, काठमाडौं । तिब्बततर्फ नदी थुनिएर बनेको ताल फुट्दा रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा विनाशकारी बाढी आएको जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले बुधबार सार्वजनिक गरेको विस्तृत प्राविधिक प्रतिवेदनअनुसार बाढीका कारण नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको छ। बाढीको तीव्र बहावका कारण नदी किनारमा रहेका चार वटा स्वचालित जलमापन केन्द्रसमेत बगेका छन्।
प्रतिवेदनअनुसार १० भदौ बिहान ८:३७ बजे खानी तथा भूगर्भ विभागले ४.४ रेक्टर स्केलको भूकम्प मापन गरेको थियो। त्यसको केही समयपछि तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी प्रवेश गरेको थियो।
बिहान ८:५० बजे भोटेकोशी स्याफ्रुबेँसी जलमापन केन्द्रबाट तथ्यांक आउन बन्द भएको थियो। त्यस केन्द्रमा बिहान ८:४० बजे अन्तिमपटक १.६२ मिटर जलसतह मापन भएको थियो। चेतावनी तह ६ मिटर र खतरा तह ७ मिटर तोकिएको थियो।
बिहान ९ बजे जिल्ला प्रशासन कार्यालय रसुवा र बेत्रावती जलमापन केन्द्रका कर्मचारीमार्फत भोटेकोशीमा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको सूचना महाशाखाले पाएको थियो।
सूचना प्राप्त हुनासाथ महाशाखाले बिहान ९:१५ बजेदेखि नदी तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सतर्क गराउन थालेको थियो। नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा रसुवा, नुवाकोट, धादिङ र चितवनका जोखिमयुक्त क्षेत्रमा ६ लाख ७९ हजार २ सय ९५ वटा पूर्वसूचना एसएमएस पठाइएको प्रतिवेदनमा उल्लेख छ।
यसमा नेपाल टेलिकमबाट ४ लाख ३५ हजार ६ सय ३५ र एनसेलबाट २ लाख ४३ हजार ६ सय ६० एसएमएस पठाइएको थियो। समयमै पूर्वसूचना प्रवाह गरिएकाले धेरै नागरिकले ज्यान जोगाउन सफल भएको महाशाखाको दाबी छ।
बाढी बिहान १०:२८ बजेतिर धादिङको गल्छी आसपास पुगेको थियो। त्यसपछि पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडकखण्ड र त्रिशूली तटीय बस्तीमा पुनः सतर्कता सन्देश पठाइएको थियो।
बिहान ११:२६ बजे मलेखुको फुर्केखोला जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको थियो। ११:४३ बजे जलसतहले खतरा तह पार गरेपछि केही समयमै पुलसहित जलमापन केन्द्र बाढीले बगाएको थियो। बिहान ११:५० बजे बाढी मलेखु बजार आसपास पुगेको थियो।
दिउँसो १ बजे बाढीले मुग्लिन पार गरेको थियो भने २:१४ बजे कालीखोला जलमापन केन्द्रमा जलसतह १२.३ मिटरको उच्चतम बिन्दुमा पुगेको थियो। उक्त केन्द्रको खतरा तह १२.१ मिटर थियो।
दिउँसो ३:२० बजे बाढी नारायणी नदीको देवघाट क्षेत्रमा पुगेको थियो। देवघाट जलमापन केन्द्रमा साँझ ४ बजे जलसतह ६.५७ मिटरको उच्चतम बिन्दुमा पुगेपछि घट्न थालेको थियो। साँझ ६:३० बजेसम्म देवघाटमा बहाव करिब ४ मिटरमा झरेर सामान्य अवस्थामा फर्किएको प्रतिवेदनमा उल्लेख छ।
चार जलमापन केन्द्र ध्वस्त
विनाशकारी बाढीले रसुवा भोटेकोशी, रसुवा स्याफ्रुबेँसी, नुवाकोट बेत्रावती र धादिङ मलेखु (फुर्के) गरी चार वटा जलमापन केन्द्र बगाएको छ।
यी केन्द्रहरू पुलसहित बगेका कारण सम्बन्धित क्षेत्रमा प्रत्यक्ष जलसतहको तथ्यांक प्राप्त हुन नसकेको महाशाखाले जनाएको छ।
प्राविधिक आँकलनअनुसार बाढी आएको अवधिमा देवघाट जलमापन केन्द्रबाट मात्रै करिब २ करोड घनमिटर अतिरिक्त पानी बगेको थियो।
महाशाखाले रसुवागढी नाकादेखि नेपाल–भारत सीमासम्मको क्षेत्रलाई अति उच्च, उच्च र मध्यम जोखिम क्षेत्रका रूपमा नक्सांकन गरी आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ।