आईपीओ निष्कासनमा बोर्डको कडाइ, प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ अनिवार्य गर्ने प्रस्ताव

Heading1 BusinessSarokar | २७ मंसिर २०८२, शुक्रबार

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्राथमिक सेयर निष्कासन (आईपीओ)को अनुमति प्रक्रियामा थप कडाइ गर्ने तयारी गरेको छ।

बोर्डले सार्वजनिक निष्कासनको सामान्य योग्यता सम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै सरोकारवालासँग सुझाव मागेको छ। मस्यौदामा आईपीओ निष्कासन गर्न चाहने संगठित संस्थाको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हुन नहुने प्रस्ताव गरिएको छ।

हाल नेपालमा अधिकांश कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँ कायम गरी आईपीओ निष्कासन गर्दै आएका छन्। प्रस्तावित व्यवस्थाअनुसार आईपीओ निष्कासनका लागि कम्पनीको प्रतिसेयर नेटवर्थ कम्तीमा १०० रुपैयाँ हुनुपर्नेछ।

मस्यौदामा भनिएको छ, ‘संगठित संस्थाको प्रतिसेयर नेटवर्थ अंकित मूल्यभन्दा कम हुनु हुँदैन।’ साथै, बोर्डले विभिन्न उद्योग वा क्षेत्रका लागि न्यूनतम नेटवर्थसम्बन्धी छुट्टै मापदण्ड निर्धारण गर्न सक्ने व्यवस्था पनि प्रस्ताव गरिएको छ।

यसअघि पनि सेबोनले प्रतिसेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएका कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिन रोक लगाउँदै आएको थियो। नयाँ प्रस्ताव कार्यान्वयनमा आएमा आईपीओ निष्कासनका लागि कम्पनीको नेटवर्थसम्बन्धी मापदण्ड थप कडा हुनेछ।

बोर्डले सार्वजनिक गरेको मस्यौदामाथि सरोकारवालाबाट प्राप्त सुझावलाई अध्ययन गरी अन्तिम निर्देशिका जारी गर्ने तयारी गरेको छ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp