दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने

Heading1 BusinessSarokar | १७ पुष २०८२, बुधबार

२१ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले दसैँलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ ।

राष्ट्र बैंकको निर्देशनपछि केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएम मेसिनबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा नयाँ नोटबारे अनावश्यक प्रचार नगरी चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक र वाणिज्य बैंकबाट सुकिला तथा सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको जानकारी दिए ।

उनका अनुसार पैसा सटही गर्नु नियमित प्रक्रियाजस्तै भएकाले यसका लागि छुट्टै सूचना जारी गर्न आवश्यक नदेखिएको हो ।

प्रवक्ता पौडेलले असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकहरूबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको बताए ।

राष्ट्र बैंकले पछिल्ला ४–५ वर्षदेखि चाडपर्वका लागि मात्रै नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ ।

पौडेलका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसनमा रहेको छ । दसैँका बेला उक्त रकम करिब ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान राष्ट्र बैंकको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp