दसैंमा जुनसुकै ब्रान्डको ग्यास सिलिन्डर साट्न मिल्ने

Heading1 BusinessSarokar | १८ पुष २०८२, बिहीबार

चाडपर्वका बेला उपभोक्तालाई सहज रूपमा एलपी ग्यास उपलब्ध गराउन काठमाडौं उपत्यकामा जुनसुकै कम्पनीको खाली सिलिन्डर बुझाएर ग्यास लिन सकिने व्यवस्था गरिने भएको छ ।

नेपाल आयल निगम, ग्यास उद्योगी, विक्रेता तथा सुरक्षा निकायको समन्वयमा यस्तो व्यवस्था गर्न लागिएको हो । यसअन्तर्गत उपभोक्ताले आफूलाई पायक पर्ने स्थानमा जुनसुकै ब्रान्डको खाली सिलिन्डर बुझाएर ग्यास लिन सक्नेछन् । यसका लागि उपभोक्ताले कुनै अतिरिक्त शुल्क तिर्नुपर्ने छैन ।

आयल निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले एउटामात्र सिलिन्डर भएका उपभोक्तालाई राहत दिन उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरिएको बताए ।

‘बजारमा ग्यास आएको भए पनि कम्पनी फरक परेकै कारण कतिपय उपभोक्ताले दुःख पाइरहेका छन् । त्यसैले सार्वजनिकलाई राहत दिन उद्योगीहरूलाई यस्तो व्यवस्था गर्न अनुरोध गरेका हौं,’ साहले भने ।

यसअघि फरक कम्पनीको सिलिन्डर साट्दा डिलरहरूले उपभोक्ताबाट अतिरिक्त शुल्क लिने गरेको गुनासो आउने गरेको थियो । तर नयाँ व्यवस्थामा कुनै शुल्क नलिइने निगमले जनाएको छ ।

नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष तथा ग्यास उद्योगी शिवप्रसाद घिमिरेका अनुसार काठमाडौं उपत्यकाका १५ देखि २० वटा मुख्य स्थानमा संयुक्त बिक्री काउन्टर सञ्चालन गर्ने तयारी भइरहेको छ ।

नेपाली सेनाको मुख्यालय, छाउनी, सीतापाइला लगायतका स्थानमा ग्यास उद्योगी, आयल निगम, विक्रेता महासंघ तथा सुरक्षा निकायको समन्वयमा काउन्टर सञ्चालन गर्ने विषयमा छलफल भइरहेको छ ।

संकलन भएका फरक–फरक कम्पनीका खाली सिलिन्डर उद्योगीहरूले पछि आपसमा व्यवस्थापन गर्नेछन् ।

वास्तविक उपभोक्तालाई मात्र सुविधा

उद्योगी घिमिरेका अनुसार यस्तो सुविधा डिलर वा व्यवसायीका लागि नभई ग्यासको अभावका कारण समस्यामा परेका वास्तविक उपभोक्तालाई मात्र दिइनेछ ।

ग्यासको दुरुपयोग रोक्न उपभोक्ताको परिचय खुल्ने विवरण तथा मोबाइल नम्बर लिएर मात्र सिलिन्डर उपलब्ध गराउने तयारी छ ।

कुन–कुन स्थानबाट सेवा दिने भन्ने विषयमा अन्तिम निर्णय भएपछि एक–दुई दिनभित्र औपचारिक सूचना जारी गरिने आयल निगमले जनाएको छ ।

निगमका कार्यकारी निर्देशक साहले निश्चित काउन्टरमा मात्र सीमित नगरी डिलर स्तरबाटै जुनसुकै कम्पनीको सिलिन्डर साट्न सकिने व्यवस्था भए उपभोक्तालाई अझ सहज हुने बताए ।

दसैंका बेला काठमाडौं उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरिने भएकाले यहाँ ग्यासको खपत करिब ४० प्रतिशतसम्म घट्ने गरेको छ । तर उपत्यकामै रहने र घरमा एउटामात्र सिलिन्डर भएका उपभोक्ताका लागि यो व्यवस्था चाडपर्वका बेला राहतदायी हुने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp