२५ असोजदेखि नारायणगढ–काठमाडौंमा ट्रेलर चलाउन नपाइने
काठमाडौं । दसैंको समयमा नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइने भएको छ ।
यातायात व्यवस्था विभागमा आज बसेको सरोकारवालाको बैठकले घटस्थापनादेखि पूर्णिमासम्म ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । दसैंका बेला यात्रुवाहक सवारीसाधनको चाप अत्यधिक हुने भएकाले यस्तो निर्णय गरिएको हो ।
निर्णयअनुसार २५ असोजदेखि ८ कात्तिकसम्म नारायणगढ–काठमाडौं सडकखण्डमा ट्रेलरलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालन गर्न पाइने छैन ।
तर खाद्य सामग्री, औषधि, फलफूल तथा अन्य अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई भने यो प्रतिबन्ध लागू हुने छैन । त्यस्ता सवारीसाधन निर्वाध सञ्चालन गर्न पाउनेछन् ।
दसैंमा घर जाने यात्रुको चाप बढ्ने भएकाले सडकमा सहज आवागमन तथा यातायात व्यवस्थापनलाई ध्यानमा राख्दै ठूला मालवाहक सवारीमा अस्थायी रोक लगाउने निर्णय गरिएको हो ।
