नबिल बैंकका सेयरधनीलाई बोनस र नगद गरी १५.८० प्रतिशत लाभांश
नबिल बैंकका सेयरधनीलाई १५.८० प्रतिशत लाभांश, ५ प्रतिशत बोनस सेयर पारित
काठमाडौं । नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस सेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहीबार सम्पन्न साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित लाभांश वितरणसम्बन्धी निर्णय अनुमोदन गरेको हो ।
बैंकको हाल कायम करिब २७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजीका आधारमा ५ प्रतिशत बोनस सेयर वितरण गर्दा करिब १ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर जारी हुनेछ । त्यस्तै, १०.८० प्रतिशत नगद लाभांश वितरणका लागि करसहित करिब २ अर्ब ९२ करोड रुपैयाँ छुट्याइएको छ ।
साधारणसभामा बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि प्रस्तुत गरिएको थियो । साथै, आर्थिक वर्ष २०८२/८३ को वार्षिक तथा वित्तीय प्रतिवेदन अनुमोदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र अन्य नियमित प्रस्तावमाथि छलफल गरिएको थियो ।
सभाले बैंकको अधिकृत पुँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावली संशोधन र सम्भावित मर्जर तथा एक्विजिसनसम्बन्धी कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने विषयलाई समेत एजेन्डामा समेटेको थियो ।
बैंकको सञ्चालक समितिको ७१२औँ बैठकले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट कुल १५.८० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाले अनुमोदन गरेपछि लाभांश वितरणको बाटो खुलेको हो ।
