विनोद चौधरीको राजनीतिक छलाङ : एमालेको समानुपातिक सांसददेखि कांग्रेसको उपसभापतिसम्म
२६ असोज, काठमाडौं । उद्योग–व्यवसायमा विश्वव्यापी पहिचान बनाएका विनोद चौधरीले नेपाली राजनीतिमा पनि आफ्नो स्थान उकास्दै लगेका छन् । नेकपा एमालेबाट समानुपातिक सांसद बनेर संसदीय यात्रा सुरु गरेका चौधरी अहिले नेपाली कांग्रेसको उपसभापतिसम्म पुगेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनबाट उनी समावेशी कोटामा उपसभापति निर्वाचित भएका हुन् । उनले १ हजार ७४५ मत प्राप्त गर्दै पार्टीको दोस्रो तहको नेतृत्वमा स्थान बनाएका छन् । उनको यो सफलताले व्यावसायिक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका चौधरीको राजनीतिक यात्रामा अर्को महत्त्वपूर्ण अध्याय थपेको छ ।
चौधरीको राजनीतिक यात्रामा समावेशी प्रतिनिधित्व महत्त्वपूर्ण माध्यम बनेको देखिन्छ । २०६४ सालमा नेकपा एमालेबाट औपचारिक राजनीतिमा प्रवेश गरेका उनी पहिलो संविधानसभा निर्वाचनपछि समानुपातिक सूचीबाट सभासद बनेका थिए । त्यसपछि २०७४ सालमा नेपाली कांग्रेसमा प्रवेश गरेका उनले १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य जितेका थिए । अहिले उनी समावेशी कोटाबाटै उपसभापति बनेका छन् ।
व्यवसायमा विश्वव्यापी उपस्थिति
७० वर्षीय चौधरी नेपालको निजी क्षेत्रका स्थापित व्यवसायी हुन् । चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष रहेका उनका व्यवसाय पाँचै महादेशका २७ देशमा फैलिएका छन् । समूहअन्तर्गत १६० कम्पनी र १२३ ब्रान्ड रहेको बताइएको छ ।
फोर्ब्सले सन् २०२५ मा सार्वजनिक गरेको अर्बपतिहरूको सूचीमा चौधरीको सम्पत्ति २ अर्ब १० करोड अमेरिकी डलर उल्लेख थियो । उनी उक्त सूचीमा विश्वका धनाढ्य व्यक्तिमध्ये १ हजार ९८२औँ स्थानमा थिए ।
व्यवसायसँगै उनले नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघको नेतृत्वसमेत गरिसकेका छन् । उनको व्यावसायिक पहिचानको प्रमुख आधारमध्ये वाइ–वाइ चाउचाउ ब्रान्ड पनि हो ।
एमाले हुँदै कांग्रेसको नेतृत्वमा
चौधरीको राजनीतिक सम्बन्ध पञ्चायतकालदेखि नै विभिन्न राजनीतिक व्यक्तित्वसँग रहँदै आएको थियो । रानी ऐश्वर्य, अधिराजकुमार धीरेन्द्र शाह र सूर्यबहादुर थापासँग निकट सम्बन्ध बनाएका उनी २०४६ सालपछि एमालेसँग नजिकिएका थिए ।
एमालेबाट संसदीय यात्रा सुरु गरेका चौधरी २०७४ सालमा कांग्रेसमा प्रवेश गरेपछि पार्टीको केन्द्रीय राजनीतिमा सक्रिय बने । १४औँ महाधिवेशनमा मधेशी कोटाबाट केन्द्रीय सदस्य निर्वाचित हुँदा उनले २ हजार २०६ मत पाएका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा पश्चिम नवलपरासी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका चौधरी पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा भने सोही क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विक्रम खनालसँग पराजित भए ।
निर्वाचनमा पराजित भए पनि पार्टीभित्र उनको राजनीतिक प्रभाव कमजोर भएन । सुरुमा शेरबहादुर देउवा समूहमा रहेका उनी जेनजी आन्दोलनपछि गगन थापा समूहमा लागेका थिए । थापाको नेतृत्वमा भएको विशेष महाधिवेशनमा सहभागी भएका चौधरी अहिले सोही समूहको नेतृत्वमा उपसभापति बनेका छन् ।
उपसभापतिमा प्रतिस्पर्धात्मक जित
कांग्रेसको समावेशी उपसभापति पदमा चौधरीले १ हजार ७४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत पाए । त्यस्तै, फरमुल्लाह मन्सुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रन्जित कर्णले ५६२ मत प्राप्त गरे ।
खुला उपसभापतिमा चन्द्र भण्डारी ३ हजार ७३५ मतसहित निर्वाचित भए भने मधु आचार्यले २ हजार ३४२ मत पाए । महिला उपसभापतिमा पुष्पा भुसाल र वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका थिए ।
कांग्रेसको संशोधित विधानले वरिष्ठ उपसभापतिसहित पाँच जना उपसभापति रहने व्यवस्था गरेको छ । उद्योगमा ठूलो व्यावसायिक साम्राज्य निर्माण गरेका चौधरीका लागि कांग्रेसको उपसभापति पद राजनीतिक प्रभाव विस्तारको नयाँ अवसर बनेको छ ।
