पृथ्वी राजमार्गको गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालन

Heading3 BusinessSarokar | २२ पुष २०८२, सोमबार

काठमाडौं । त्रिशूली नदीको कटानका कारण सडक भासिएपछि अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरीस्थित गलौंदी खण्डमा दुईतर्फी यातायात सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालय धादिङले आइतबार सूचना जारी गर्दै गजुरी गाउँपालिका–५ स्थित गलौंदी क्षेत्रमा सडक मर्मतपछि यातायात सञ्चालनमा आएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम) का अनुसार सडक मर्मत गरी सवारीसाधनको आवागमन दुईतर्फी रूपमा खुलाइएको हो ।

यसअघि सडक भासिएपछि प्रशासनले उक्त खण्डमा सम्पूर्ण सवारीसाधनको आवागमन रोकेको थियो । पछि वैकल्पिक डाइभर्सन निर्माण गरी साना तथा मझौला सवारीसाधनलाई सञ्चालन अनुमति दिइएको थियो ।

सडक मर्मतपछि यातायात सञ्चालनमा आए पनि जोखिम पूर्ण रूपमा नहटेको प्रशासनले जनाएको छ । केही स्थानमा मर्मत कार्य जारी रहेकाले सवारी चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानीपूर्वक यात्रा गर्न प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले सडकको अवस्थालाई ध्यानमा राख्दै सुरक्षित रूपमा सवारी सञ्चालन गर्न र सम्भावित जोखिमबाट बच्नसमेत अनुरोध गरेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp