अब कुमारी बैंकका शाखाबाटै लिन सकिन्छ सुरुङमार्गको एन–ट्याग

Heading3 BusinessSarokar | ५ फागुन २०८२, सोमबार

कुमारी बैंक लिमिटेडले नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि आवश्यक विद्युतीय टोल भुक्तानी प्रणाली ‘एन–ट्याग’ बिक्री तथा वितरण सुरु गरेको छ ।

डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्ने र सवारीधनीलाई टोल शुल्क भुक्तानीमा सहजता प्रदान गर्ने उद्देश्यले बैंकले आफ्ना विभिन्न शाखामार्फत एन–ट्याग उपलब्ध गराउन थालेको हो ।

एन–ट्याग सवारीसाधनमा जडान गरिने विद्युतीय स्टिकर हो । यसले सुरुङमार्ग प्रयोग गर्दा लाग्ने टोल शुल्क स्वचालित रूपमा भुक्तानी गर्ने सुविधा प्रदान गर्छ । यो प्रणाली जडान गरेपछि टोल बुथमा सवारी रोकेर नगद भुक्तानी गर्नुपर्ने झन्झट हट्नेछ ।

विद्युतीय टोल भुक्तानी प्रणालीको प्रयोगले टोल बुथमा हुने भीडभाड र लामो प्रतीक्षा कम गर्नुका साथै यात्राको समय बचत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । विशेषगरी नियमित रूपमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने सवारीधनी यसबाट लाभान्वित हुनेछन् ।

एन–ट्याग लिन इच्छुक ग्राहकले सवारीसाधनको ब्लुबुक, सवारीधनीको नागरिकता वा राष्ट्रिय परिचयपत्र, पासपोर्ट साइजको फोटो र मोबाइल नम्बरसहित नजिकैको कुमारी बैंक शाखामा सम्पर्क गर्न सक्नेछन् ।

त्यस्तै, बैंकको आधिकारिक वेबसाइटमार्फत एन–ट्यागसम्बन्धी जानकारी लिन र अनलाइन दर्ता प्रक्रिया पूरा गर्न सकिने व्यवस्था पनि गरिएको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले डिजिटल भुक्तानीका माध्यम विस्तार गर्दै नगदरहित कारोबारलाई प्राथमिकता दिँदै आएका छन् । यातायात तथा सार्वजनिक सेवा क्षेत्रमा समेत विद्युतीय भुक्तानी प्रणालीको प्रयोग बढिरहेका बेला कुमारी बैंकले सुरु गरेको यो सेवाले टोल शुल्क भुक्तानीलाई थप सहज र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp