गरिमा विकास बैंकको २० वर्ष पूरा, वार्षिकोत्सवमा ७१३ युनिट रगत संकलन
गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा देशका विभिन्न नौ स्थानमा आयोजना गरेको रक्तदान कार्यक्रमबाट ७१३ युनिट रगत संकलन गरेको छ । बैंकले वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै रक्तदानसहित विभिन्न सामाजिक तथा संस्थागत कार्यक्रम आयोजना गरेको हो ।
बैंकले मंसिर ७ गते काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयसहित देशका विभिन्न आठ स्थानमा एकैसाथ रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । सुनसरीको इटहरी, धनुषाको जनकपुर, चितवनको नारायणगढ, स्याङ्जाको वालिङ, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा कार्यक्रम आयोजना गरिएको बैंकले जनाएको छ ।
नौ स्थानमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमबाट कुल ७१३ युनिट रगत संकलन भएको हो । संकलित रगतले रगतको अभावमा उपचारमा कठिनाइ भोगिरहेका बिरामीलाई सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ । बैंकले प्रत्येक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा रक्तदान तथा अन्य सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसैगरी, बैंकले आर्थिक वर्ष २०८२/८३ मा उत्कृष्ट कार्यसम्पादन गर्ने नौवटा शाखा कार्यालयलाई पुरस्कृत गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुखहरूलाई नगद पुरस्कार तथा ‘टोकन अफ एप्रिसिएसन’ प्रदान गरी सम्मान गरिएको बैंकले जनाएको छ ।
बैंकले वार्षिकोत्सवकै अवसरमा खेलकुद गतिविधिलाई समेत प्राथमिकता दिएको छ । ‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित मंसिर ५ गते काठमाडौंमा ‘गरिमा रोड रेस २०८३’ को तेस्रो संस्करण आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा एक हजार ४०० भन्दा बढी धावकको सहभागिता रहेको थियो ।
स्वस्थ जीवनशैली प्रवर्द्धन, शारीरिक सक्रियता अभिवृद्धि तथा खेलकुदप्रति सर्वसाधारणको आकर्षण बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बैंकले जनाएको छ । स्थापनाको दुई दशक पूरा गरेको अवसरमा बैंकले आफ्नो यात्रामा साथ र सहयोग गर्ने सेवाग्राही, सेयरधनी, नियामक निकाय, सञ्चार क्षेत्र, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरेको छ ।
वित्तीय सेवा प्रवाहसँगै सामाजिक उत्तरदायित्वका गतिविधिलाई पनि निरन्तरता दिँदै आएको गरिमा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवलाई रक्तदान, उत्कृष्ट शाखा सम्मान र खेलकुद प्रतियोगितामार्फत मनाएको छ ।
