दैनिक उपभोग्य वस्तु उत्पादनसम्बन्धी उद्योग स्थापनामा अर्थमन्त्रीको जोड

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं– दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना तथा सञ्चालन सरकारले विशेष प्राथमिकतामा राखेको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन्।

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले बिहीबार आयोजना गरेको भर्चुअल बैठकमा अर्थमन्त्री शर्माले उत्पादनमूलक उद्योगको विकास र प्रवर्द्धनमा सरकारले विशेष ध्यान दिएको बताएका हुन्।

वर्तमान सरकार नेपालको अर्थतन्त्रलाई उत्पादनमुखी बनाउने दिशातिर लागेको भन्दै मन्त्री शर्माले दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योगसहित साना तथा मझौला उद्योग सञ्चालनका लागि आइएफसीसँग सहकार्य गर्न सकिनेमा जोड दिए।

दैनिक उपभोग्य वस्तु स्वदेशमै उत्पादन गरेर आयात घटाउने सरकारको मुख्य लक्ष्य रहेको उनले बताए। ‘दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग हाम्रो प्राथमिकतामा छ,’ मन्त्री शर्माले भने, ‘यस्ता उत्पादनबाट आयात घटाउनु हाम्रो मुख्य उद्देश्य हो।’

हाल नेपालमा साना तथा मझौला उद्योगमा लगानी गर्नु आवश्यक रहेको चर्चा गर्दै मन्त्री शर्माले यसका लागि आइएफसीसँग सहकार्य गर्न सकिने बताए। मन्त्री शर्माले सकारको ध्यान कोभिड–१९ महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमै रहेकाले यसमा आवश्यक सहयोग गर्नसमेत आइएफसीलाई आग्रह गरे।

आइएफसीको ज्ञान र अनुभव नेपालमा साना तथा मझौला उद्योग स्थापनाका लागि फलदायी हुने उनले बताए।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp