नेप्सेमा १०४ अंकको उछाल, १३ कम्पनीको कारोबारमा सकारात्मक सर्किट

Heading1 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- नेपालको पुँजीबजारमा आज उछाल आएको छ। बुधबार पुँजीबजार मापक परिसूचक नेप्से १०४.८८ अंकले बढेको छ।

यससँगै नेप्से २८१६.९५ विन्दुमा उक्लिएको नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले जनाएको छ। नेप्से ३.८७ प्रतिशतले बढेको दिन आज कारोबार रकम भने घटेको छ। मंगलबार सात अर्ब ३६ करोड ४७ लाख रुपैयाँको कारोबार भएको सेयरबजारमा आज छ अर्ब १७ करोड ९३ लाख रुपैयाँको मात्र सेयर किनबेच भएको छ।

आज कूल १८५ वटा कम्पनीका एक करोड २१ लाख २२ हजार २९८ कित्ता सेयर ७२ हजार ७१४ पटक खरिद-बिक्री भएका थिए।

कारोबार भएकामध्ये एउटाबाहेक १८४ वटा कम्पनीको सेयर मूल्य बढेको छ।  आज १३ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेपछि सकारात्मक सर्किट लागेको थियो।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १९.४७ अंकले बढेर ५२८.१० विन्दुमा उक्लिएको नेप्सेले जनाएको छ।

आज अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको सबैभन्दा धेरै २३ करोड ३४ लाख ८५ हजार ५११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यसैगरी नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै चार लाख २१ हजार ९७३ कित्ता र नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको सेयर सबैभन्दा धेरै तीन हजार १७८ पटक किनबेच भएको नेप्सेले जनाएको छ।

आज सबै उपसमूहको परिसूचकमा सकारात्मक बनेको छ।

लगातार उच्च अंकले ओरालो लाग्दै आएको सेयरबजारमा मंगलबारबाट सुधार आउन थालेको थियो। सोमबार ११४.०२ अंकले घटेको नेप्से मंगलबार १३.८३ अंकले बढेको थियो। त्यसअघि अघिल्लो मंगलबारयता सेयरबजार लगातार घट्दै आएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp