कोरोना बीमाको रकम भुक्तानी प्रक्रिया अघि बढाउन अर्थमन्त्रीको निर्देशन

बीमा BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं – विभिन्न बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी कोरोना बीमाको सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले छलफल थालेका छन्।

मन्त्री शर्माले बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितका पदाधिकारीहरुलाई बोलाएर कोरोना बीमा भुक्तानीका लागि आवश्यक पर्ने स्रोत साधन र उपायका विषयमा छलफल गरेका हुन्।

यस विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने गरी तयारी थाल्न समितिलाई निर्देशन दिएका छन्।  विभिन्न बीमा कम्पनीहरुले बीमितहरुलाई ११ अर्बभन्दा बढी रकम भुक्तानी दिन बाँकी छ। यसमा सरकार, बीमा समिति, पुनर्बीमा कम्पनीलगायतको दायित्व छ।

सरकारको दायित्वमा पर्ने कोरोना बीमा दाबी भुक्तानीको र कम निकासामा चौतर्फी दबाब परेपछि मन्त्री शर्माले सरोकारवाला निकायका प्रतिनिधिहरूसँग छलफल गरेका हुन्।

एक लाख रुपियाँको प्रतिव्यक्ति एक हजार र ५० हजारको प्रतिव्यक्ति पाँच सय रुपियाँ बीमा शुल्क रहेको थियो। परिवारको सम्पूर्ण सदस्यको बीमा गर्नुपरेमा एक लाख रुपैयाँका लागि छ सय र ५० हजार रुपैयाँका लागि तीन सय रुपियाँ शुल्क तोकिएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp