वैदेशिक व्यापार १९ प्रतिशतले वृद्धि, व्यापार घाटा अझै पनि उच्च

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

चालु आर्थिक वर्ष २०८१ -८२ (साउन २०८१ देखि असार २०८२ सम्म) मा नेपालको कुल वैदेशिक व्यापार १९.२४ प्रतिशतले वृद्धि भई २ खर्ब ८ अर्ब १५ करोड रुपैयाँ नाघेको छ। अघिल्लो वर्ष २०८०-८१ मा यो व्यापार १ खर्ब ७४ अर्ब ५३ करोड रुपैयाँमा सीमित थियो।

भन्सार विभागको वार्षिक तथ्यांकअनुसार, चालु वर्षमा कुल आयात १३.२५ प्रतिशतले बढेर १ खर्ब ८० अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। यसैबीच, निकासी -निर्यात_मा उल्लेखनीय ८१.८० प्रतिशतको वृद्धि देखिएको छ। निर्यात रकम १५ अर्ब २३ करोड रुपैयाँबाट बढेर २७ अर्ब ७० करोड रुपैयाँ पुगेको छ।
यद्यपि निर्यात वृद्धिसँगै व्यापार घाटा अझै पनि उच्च नै छ। चालु वर्षमा व्यापार घाटा ६ प्रतिशतले बढेर १ खर्ब ५२ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।

यस वर्ष आयात र निर्यात अनुपात ६.५१ मा झरेको छ, जुन अघिल्लो वर्षको १०.४५ को तुलनामा ३७.७० प्रतिशतले घटेको हो। यसको अर्थ नेपालले निर्यातमा केही सुधार गरे पनि अझै पनि आयातको भरमा रहेको छ।

त्यस्तै कुल व्यापारमा निर्यातको हिस्सा ५२.४७ प्रतिशतले बढेर १३.३१ प्रतिशत पुगेको छ, भने आयातको हिस्सा ५.०२ प्रतिशतले घटेर ८६.६९ प्रतिशतमा झरेको छ। यद्यपि आयात अझै पनि कुल व्यापारको अत्यधिक हिस्सा ओगटेकाे छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp