रिलायन्स लाइफले ल्यायो ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’

Heading2 BusinessSarokar | २३ पुष २०८२, मङ्गलबार

काठमाडौं- रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘रिलायन्स वार्षिक धन वर्षा जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। सो बिमा योजनाअन्तर्गत बीमितलाई प्रत्येक वर्ष बिमालेखको वार्षिकोत्सव मितिमा बिमाङ्‍कको पाँच प्रतिशत रकम भुक्तान गरिने कम्पनीले जनाएको छ।

उक्त  व्यवस्थाले बीमितको नियमित नगद प्रवाहको आवश्यकता पूरा गर्नुका साथै पूर्ण बिमाङ्‍क रकम बराबरको रक्षावरणसमेत प्रदान गर्ने कम्पनीको भनाइ छ। ‘यो योजना बीमितले १५ वा २० वर्षको अवधिका लागि लिन सक्ने छन्। १५ वर्षको बिमा अवधिको समाप्तिमा बीमितलाई अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाइ बाँकी रहेको बिमाङ्‍क रकम र आर्जित बोनस प्रदान गरिनेछ भने २० वर्षको बिमा अवधिको समाप्तिमा अग्रिम वार्षिक रुपमा भुक्तानी गरिएको रकम घटाइ बाँकी बिमाङ्‍क रकम, आर्जित बोनस र बिमाङ्‍क रकमको १० प्रतिशत थप रकम (एक पटकको लागिमात्र) प्रदान गरिनेछ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

यस योजनामा बिमा अवधिमा बीमितको मृत्यु भएमा इच्छाएको व्यक्तिलाई बिमाङ्‍क रकम र आर्जित बोनस प्रदान गरिने कम्पनीले जनाएको छ।

यो योजना १८ देखि ५५ वर्ष उमेरका ग्राहकले लिन सक्ने छन्। यो योजनाअन्तर्गत न्यूनतम बिमाङ्‍क रकम एक लाख रुपैयाँ कायम गरिएको छ। यो योजनासँगै बीमितले थप न्यूनतम बिमा शुल्क भुक्तानीमा दुर्घटना मृत्यु सुविधा, स्थायी अशक्तता र बिमा शुल्क मिनाहाजस्ता अतिरिक्त सुविधाहरु पनि लिनसक्ने कम्पनीले जनाएको छ।

 

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp