यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय चार्टर्ड उडानको अनुमति

Heading1 BusinessSarokar | १९ मंसिर २०८२, बिहीबार

काठमाडौं– निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि अनुमति (एओसी) पाएको छ। कम्पनीले बिहीबार नागरिक उड्डयन प्राधिकरणबाट एओसी पाएको कम्पनीका उडान सुरक्षा प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

अनुमति पाएलगत्तै कम्पनीले आफूसँग भएको ७२ सिट क्षमताको एटीआर–७२ सिरिजको जहाजमार्फत भारत, म्यानमार, बंगलादेश, भुटान र श्रीलंका, थाइल्याण्डलगायत मुलुकमा चार्टर्ड उडान गर्ने बर्तौलाले बताए।

चार्टर्डको अनुभव लिएर निकट भविष्यमै अन्तर्राष्ट्रिय गन्तब्यमा नियमित उडान गर्ने योजना बनाएको उनको भनाइ छ। पोखरा र गौतम बुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल बेस बनाएर उडान गर्ने योजना बनाए पनि कम्पनीले हालका लागि काठमाडौं बेस रही विभिन्न गन्तब्यमा चार्टर्ड  उडान गरिने उनले बताए। ती विमानस्थल तयार भए लगत्तै कम्पनीले उतै बेस बनाएर चार्टर्ड  उडान गर्नेछ।

अन्तर्राष्ट्रिय चार्टर्ड  उडान अनुमति पाएसँगै कम्पनीले सन् २०२२ भित्रै चारवटा एटीआर–७२ जहाज थप्ने योजनासमेत बनाएको छ। हाल कम्पनीले आफूसँग भएको पाँचवटा एटिआर–७२ सिरिजको जहाजमार्फत मुलुकभित्रका विभिन्न आन्तरिक गन्तब्यमा सेवा दिँदै आएको छ।

कम्पनीले यो उडानका लागि डेढ वर्ष अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको थियो। मन्त्रालयले गत वर्ष वैशाख १७ मा अन्तर्राष्ट्रिय उडानका लागि सार्वजनिक सूचना जारी गरेको थियो। यतीले गत वर्ष जेठ २९ गते आवेदन दिएको थियो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp