माघ १८ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक मेला हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विशेष मेला क्यान इन्फोटेक आगामी माघ १८ गतेदेखि हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ २३ गतेसम्म हुनेगरी मेलाको तयारी अगाडि बढाइएको छ । यो क्यान इन्फोटेकको २७ औं संस्करण हो ।
गत वैशाख २८ गतेदेखि जेठ २ गतेसम्म मेला हुनेगरी तयारी गरिएकोमा कोभिड–१९ को दोस्रो लहर फैलिएपछि मेला स्थगित गरिएको थियो । सन् १९९५ देखि क्यान महासंघले क्यान इन्फोटेकको सुरुवात गरेको हो । प्रदर्शनीले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि सम्बन्धी व्यवसायी तथा सम्बन्धित पक्षलाई राहत पुग्ने क्यान महासंघको भनाइ छ । पछिल्ला समय सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा भएका विकास तथा नवप्रवर्तनहरुलाई क्यान इन्फोटेक मेलामा ल्याइने महासंघले जनाएको छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहने प्रचलन छ । व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा मेलालाई उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति उपयोगी प्रविधि तथा उपकरणको अवलोकन/खरिद गर्न पाउनेछन् ।
यो मेला सूचना प्रविधिसम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो पनि हो । क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । क्यान इन्फोटेक २०२२ मा ब्राण्डिङ, आइसिटी एसोसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ–वेष्ट म्यानेजमेन्ट, वाइफाइ तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरु रहनेगरी तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ ।
विभिन्न सफ्टवेयर, नेटवर्किङ र क्लाउड सोल्युसन, मोबाइल फोन तथा सोल्युसन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युसन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिष्टम, कम्प्युटर एसोसरिज, एन्टीभाइरस सफ्टवेयर, बैंकिङ सोल्युसन, सीसीटीभी र हार्ड डिस्क, आईओटी तथा आर्टीफिसियल इन्टेलिजेन्स सम्बन्धी जानकारी मेलामा दिइने छ। आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सरकारी क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, स्वास्थ्य, पर्यटन र कृषिमा सूचना प्रविधि, सेल्फ लर्निङ सफ्टवेर तथा ट्युटोरियल आदि प्रर्दशनीमा रहनेछन् । क्यान इन्फोटेकको २६ औं संस्करण करिब साढे ३ लाखले अवलोकन गरेकोमा यो संस्करणमा समेत सोही संख्याका अवलोकनकर्ता आउने आयोजकको अनुमान छ ।
सम्बन्धित खबर
डाेटीमा छ दिनदेखि बन्द फोन र विद्युत् सेवा सञ्चालनमा
२७ मंसिर २०८२, शुक्रबार
युनियन लाइफ इन्स्योरेन्सले साधारण सभा प्रयोजनको लागि वैशाख १३ गते बुक क्लोज गर्ने
२७ मंसिर २०८२, शुक्रबार
विश्व बैंकले नेपाललाई दिने ऋणको ब्याजदर बढाएर १.५ प्रतिशत पुर्यायो
२७ मंसिर २०८२, शुक्रबार
