Banking Khabar
Heading3

धितोपत्र बजारका समस्या समाधान गर्न मन्त्रालयले सहजीकरण गर्छः अर्थमन्त्री

March 29, 2022
सेयर:

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा धितोपत्र बजारको महत्वपूर्ण स्थान रहेको बताउनुभएको छ । ग्लोब मनी विक–२०२२ अन्तर्गत नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आइतबार आयोजना गरेको वित्तीय साक्षरतासम्बन्धी प्रभातफेरीपछिको कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले पछिल्लो समय धितोपत्र बजारको आकार र यसमा सर्वसाधारणको उल्लेख्य सहभागिता बढ्दै गएका कारण धितोपत्र बजारको अर्थतन्त्रमा महत्वपूर्ण स्थान रहेको बताउनुभयो ।

‘धितोपत्र बजारका बारेमा सर्वसाधारणलाई बुझाउन आवश्यक छ’, उहाँले भन्नुभयो ‘त्यसैले वित्त परिचालन गर्ने संस्थाहरुले यस्ता कार्यक्रमहरु तल्लो जनसमुदायसमेत लाभान्वित हुनेगरी दूरदराजसम्म पुर्याउनुपर्ने आवश्यकता छ ।’

यस्ता कार्यक्रमहरुले लगानीको सुरक्षा तथा वित्तीय क्षेत्रको जानकारी हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने शर्माले उहाँले बताउनुभयो । ‘धितोपत्र बजारमा विविध खालका समस्या छन्’, उहाँले भन्नुभयो, ‘ती समस्याहरु समाधान गर्दै बजारको गुणात्मक विकास तथा विस्तारका लागि नयाँ नेतृत्व पठाएको छु र उहाँहरुलाई निर्देशनसमेत दिएको छु ।’

धितोपत्र बजारमा देखिएका समस्या समाधानका लागि अर्थ मन्त्रालयले पर्याप्त मात्रामा सहजीकरण गर्ने प्रतिबद्धतासमेत शर्माले व्यक्त गर्नुभयो । हालको नयाँ नेतृत्वले नयाँ प्रतिबद्धतासहित नयाँ संरचना तथा योजनासहित बजारको विकास तथा विस्तारका लागि कार्य गर्नुपर्ने र नेपालको पुँजी बजारलाई अन्तर्राष्ट्रियस्तरको प्रविधिमैत्री एवं आधुनिक बनाउनुका साथै बजारलाई अर्थतन्त्रको ऐनाका रुपमा विकास गर्न सम्बद्ध सबै पक्षलाई उनले निर्देशनसमेत दिनुभयो ।

वित्तीय अज्ञानताका कारण विविध खालका समस्या उत्पन्न हुने र आरोप प्रत्यारोपहरु लाग्ने हुँदा सर्वसाधारणलाई बुद्धिमतापूर्वक निर्णय लिन सक्षम बनाउन साक्षरतासम्बन्धी कार्यक्रमहरु व्यापक रुपमा सञ्चालन गर्नसमेत निर्देशन अर्थमन्त्री शर्माले बताउनुभयो ।

कार्यक्रममा सेबोनका अध्यक्ष रमेशकुमार हमालले वित्तीय साक्षरता अभिवृद्धि गर्ने यस कार्यक्रममा उल्लेख्य सहभागिता देखाउने सबै पक्षलाई धन्यवाद दिनुभयो । ‘यसले बोर्डलाई लगानीकर्ताको हकहित संरक्षण, बजारको विकास तथा विस्तारको लागि थप हौसला मिलेको छ’, उहाँले भन्नुभयो, ‘यस कार्यमा बोर्ड प्रतिबद्धसमेत रहेको छ ।’

भद्रकालीबाट सुरु भई भृकुटीमण्डपमा समापन भएको प्रभातफेरीमा धितोपत्र बजार सम्बद्ध पक्ष, बीमा तथा सहकारीसम्बद्ध पक्ष र बैंक वित्तीय संस्थाका पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता थियो ।

कार्यक्रममा नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल स्टक एक्सचेन्ज, सीडीएस एन्ड क्लियरिङ, रेटिङ संस्थाहरु, स्टक ब्रोकर एसोसियसन अफ नेपाल र मर्चेन्ट बैंकर्स एसोसियसन अफ नेपाल, नेसनल बैंकिङ इन्स्टिच्युट र सम्बद्ध संस्थाहरुको सहभागिता थियो ।