विश्वभर महँगी : बहुराष्ट्रिय कम्पनी नेस्लेले ५ % ले बढायो आफ्नो सामानको भाउ
विश्वको सबैभन्दा ठूलो खाद्य तथा पेय सामग्री निर्माता कम्पनी नेस्लेले आफ्नो सामानको भाउ बढाएको छ ।
कम्पनीले यो वर्षको पहिलो तीन महीनामा मूल्य ५ प्रतिशतभन्दा धेरैले बढाएको हो । विश्वभर कच्चा, तेल, गहुँलगायत कमोडिटिजको भाउ बढेपछि कम्पनीले मूल्य बढाएको थियो ।
मूल्य वृद्धिको मार उत्तर अमेरिकाको उपभोक्तामा सबैभन्दा धेरै परेको छ । कम्पनीले त्यहाँ भाउ साढे ८ प्रतिशत बढाएको छ ।
ल्याटिन अमेरिकामा पनि नेस्लेका प्रडक्टको भाउ ७ दशमलव ७ प्रतिशतले बढेको छ । आगामी दिनमा मूल्य थप बढाउने संकेत नेस्लेका सीईओ मार्क शिनेइडरले बताएका छन् । प्रडक्टको लागत निरन्तर तीव्र स्तरमा बढिरहेकोले वर्षको आगामी दिनमा भाउ थप बढाउनु पर्ने आवश्यकता हुने पनि उनले बताए ।
पछिल्लो समय विश्वभर महँगी बढेको छ । अमेरिकामा मार्चमा उपभोक्ता मूल्य साढे ८ प्रतिशतमा उक्लिएको थियो । यो ४० वर्षयताकै उच्च हो । यूरोपमा पनि महँगी साढे ७ प्रतिशत छ । यो पनि यूरोपेली संघले २५ वर्ष अघि मुद्रास्फीतिसम्बन्धी तथ्यांक संकलन गर्न थालेयताकै उच्च हो ।
जर्मनीमा गत वर्षको सोही अवधिको तुलनामा मार्चमा महँगी ३० प्रतिशतभन्दा धेरैले बढेको छ । महँगीमा भएको वृद्धिका कारण जर्मनीमा महँगी ७३ वर्षअघि त्यहाँको सरकारी तथ्यांक कार्यालयले यससम्बन्धी तथ्यांक संकलन गर्न थालेयताकै उच्च हो ।
सो अवधिमा जर्मनीमा इन्धनको भाउ गत वर्षको सोही अवधिको तुलनामा झन्डै ८४ प्रतिशतले बढेको थियो । पछिल्लो समय विश्वभर महँगी बढाउने मुख्य कारक इन्धनको भाउ भएपनि खाद्यान्नको भाउ पनि आकाशिरहेका छन् ।
उत्पादन लागत बढेपछि कम्पनीले आफ्ना उत्पादनको भाउ बढाएको थियो । योसँगै कम्पनीको विक्री पनि बढेको छ । यस वर्षको पहिलो त्रैमासमा नेस्लेको कुल विक्री ५ दशमलव ४ प्रतिशतले बढेको थियो । वर्षभरि पनि विक्री ५ प्रतिशतले बढ्ने कम्पनीको अनुमान छ ।
तर उच्च उत्पादन लागतका कारण कम्पनीको मुनाफा भने घटेको छ । यो वर्ष कम्पनीको सञ्चालन मुनाफा १७ देखि १७ दशमलव ५ प्रतिशत बीच रहने अनुमान गरिएको छ । कोरोना भाइरसको महामारीका कारण विश्वभर खाद्यान्नको भाउ बढेको थियो । युक्रेनमा रुसले आक्रमण गरेपछि यो झनै आकाशिएको छ । एजेन्सीहरु