दक्षिण कोरियामा घरजग्गाको मूल्यमा बिस्फोटक वृद्धि, एउटै अपार्टमेन्टको औसत मूल्य १ अर्ब वनभन्दा बढी
हामीहरुलाई कुनै पनि कुरा नचाहिएसम्म त्यसबारे खासै सोधखोज गर्दैनौं । केही अघिसम्म पनि लि जु हेउनले घर किन्नेबारे गम्भीर भएर सोचेकै थिइनन् । तर घर खोज्दै जाँदा मूल्य सुनेर अचम्भित भइन् । लिले आफ्नो हुनेवाला श्रीमानसँग बस्नका लागि घर किन्न खोज्दै थिइन् ।
उनीहरुले ४० करोड वनमा ६६ वर्गमिटरसम्मको घर हेरिरहेका थिए । तर मूल्य देखेर उनीहरु तर्सिए । पाँच वर्ष अघिसम्म पनि लिले घर खोजेको भए घर पाउन सजिलो हुन्थ्यो । उनी बसेको ठाउँ अर्थात् उत्तरपश्चिम सोलको उनप्योङ जिल्लामा अपार्टमेन्टको औसत मूल्य सन् २०१७ मा ४७ करोड वन थियो ।
अहिले यो बढेर ९० करोड वनमाथि पुगेको छ । अहिले अन्य भावी घर क्रेता जस्तै लि पनि छिमेकमा रहेको गेओन्गी प्रान्ततिर बसाइ सरेर जाने विचार गरिरहेका छन् । त्यहाँ सोलको तुलनामा घरको भाउ कम छ । पछिल्लो समय दक्षिण कोरियामा घरजग्गाको भाउ अकल्पनीय रुपमा बढिरहेको छ । बृहत सोल क्षेत्रमा घरको औसत विक्री मूल्य सन् २०१७ को मेमा ३४ करोड १० लाख वन थियो ।
सन् २०२२ को मार्चमा यो बढेर ६२ करोड ६० लाख वनमा पुगेको कोरिया रियल इस्टेट बोर्डले बताएको छ । सोही अवधिमा सोलमा अपार्टमेन्टको औसत मूल्य ६० करोड ७० लाख वनबाट बढेर १ अर्ब २० करोड वनमा पुगेको केबी कूकमिन बैंक डेटाले देखाएको छ ।
कोरियाली सरकारले घरजग्गामा आपूर्ति बढाउन भन्दा पनि यो क्षेत्रमा सट्टेबाजी रोक्न तिर बढी ध्यान दिइरहेको छ । यसका कारण अवस्था झनै खराब भएको सन् २०२० मा कोरियलन इकोनोमिक एशोसिएशनले गरेको एउटा सर्वेक्षणले देखाएको थियो ।
केही क्षेत्रलाई सट्टेबाजी धेरै हुने क्षेत्रको रुपमा निर्धारण गरियो अनि कारोबारका लागि अनुमति प्रणाली शुरु गरियो । यसले गर्दा मानिसहरुलाई भाउ झनै बढ्ने हो कि भन्ने भान परेको छ । यो सरकारले गर्न नहुने काम थियो । यसले पनि घरको मूल्य वृद्धिलाई प्रभावित पार्यो । मूल्य वृद्धिको फोका बढेर ठूल्ठूलो हुन थालेपछि पहिलो पटक घर किन्न आँट गरिरहेकाहरु पछडि सरेका छन् ।
घरजग्गाको भाउ छुनै नसक्ने भएपछि भाउ घट्ला अनि लिउँला भनेर कुर्नेहरुको संख्या बढको छ । तर मूल्य वृद्धिले केहीलाई भने लाभ पनि भएको छ । केही वर्ष अगाडि घरमा लगाएको पैसाको भाउ दोब्बर, तेब्बर भएको छ ।
सरकारले घरजग्गाको मूल्य नियन्त्रण कयौं प्रयास पनि गरेको छ । धितोका कर्जासम्बन्धी सरकारको केही नीतिले सम्भावित क्रेताहरुका लागि घर खरिद असम्भव बनाएको छ । ९० करोड वनसम्म मूल्य पर्ने घरको लागि घरको मूल्यका आधारमा उपलब्ध गराइने कर्जाको अनुपात सरकारले ७० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको छ । यसले सम्भावित घर क्रेताको लागि आवश्यक रकम जोहो गर्न संघर्ष गर्नु पर्ने अवस्था सृजना भएको छ ।
दुई जनाको एक मुष्ठ कमाइ ठिकै हुने घरपरिवारका लागि पनि बैंकबाट कर्जा पाउन मुश्किल छ दक्षिण कोरियामा । आम्दानी ठिकठाकहरुलाई सरकारले सहुलियतपूर्ण कर्जा पनि दिदैंन । यस्तो खालको कर्जा न्यून आय भएकाहरुलाई मात्रै उपलब्ध छ । यस्तोमा घर किन्न चाहनेहरुको भिडमा थोरै रकम नपुगेर पनि घर किन्न नसकेको अवस्था पनि दक्षिण कोरियामा छ ।
दक्षिण कोरियामा घरपरिवारको सम्पत्तिको ६० प्रतिशत अनुपात घरजग्गामा छ । पछिल्लो समय यहाँ बुढो पुस्ता र युवा पुस्तामाझ घरको स्वामित्व र सम्पत्तिबीचको अन्तर फराकिलो बन्दै गइरहेको छ ।
४० वर्ष वा सोभन्दा कम उमेरका पुस्तामा घरको स्वामित्व ओरालो लागिरहेको सन् २०२० मा भएको घरपरिवारको सर्वेक्षणको विश्लेषणले देखाएको छ । कोरियाको मध्यम आय भएको वर्गमा सम्पत्तिको भर्याङ सन् १९७० मा जन्मिएकाहरुका लागि स्थिर रहेको स्वतन्त्र आर्थिक अनुसन्धाता चो गिवि–डोङले अल जरिसँगको कुराकानीमा भनेका थिए ।
सन् १९८१ पछि जन्मिएकाहरुको हकमा स्वामित्व घट्दै गइरहेको छ । ८० को दशकपछि जन्मिएकाहरुमा त यो झनै डरलाग्दो गरी कम छ । दक्षिण कोरियामा सन् १९८१ देखि सन् १९९६ बीचमा जन्मिएका अर्थात् मिलेनियल र सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएकाहरु अर्थात् जेनरेशन जेडहरु आफ्ना पुराना पुस्ता बीच यति धेरै विरोध किन गर्ने रहेछन् भनेर यो अन्तरले पनि प्रष्ट पार्ने चुको भनाइ छ । एजेन्सी