आदर्श लघुवित्तको आईपीओ आजदेखि निष्कासनमा, कहिलेसम्म दिन सकिन्छ त आवेदन ?

१ असार २०७९, बुधबार ०३:२४

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले असार १ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ६७ लाख रूपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ सर्वसाधारणमा वितरण गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये शून्य दशमलव ५ प्रतिशत अर्थात् १ हजार ३५ कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । कम्पनीले ५ प्रतिशत अर्थात् ३ हजार ३५० कित्ता शेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिसकेको छ । यी बाहेक बाँकी ६२ हजार ६१५ कित्ता आईपीओ भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओमा असार ६ गतेसम्म आवेदन दिन सकिने छ । सो अवधिभित्र माग अनुसार आवेदन नपरेमा असार १५ गतेसम्म आईपीओ विक्रीमा रहनेछ ।

तर, यसअघिका आईपीओमा परेको आवेदनको प्रवृत्ति हेर्दा यो आईपीओ असार ६ गतेसम्म मात्र विक्रीमा रहने देखिन्छ । यो आईपीओ विक्री प्रवन्धकमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

कम्पनीको पूँजी संरचना :
कम्पनीको अधिकृत पूँजी ४ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी २ करोड ७ लाख रुपैयाँ छ । हाल कम्पनीको चुक्तापूँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । यो आईपीओ निष्कासन गरी बाँडफाँडपछि कम्पनीको चुक्तापूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीमा संस्थापक शेयरधनीको ६७ दशमलव ६३ प्रतिशत र सर्वसाधारण शेयरधनीको ३२ दशमलव ३७ प्रतिशत रहेको छ । आईपीओबाट प्राप्त हुने रकम कृषि, पशुपालन, खुद्रा व्यापार तथा सेवा व्यवसाय कर्जामा ६७ लाख रुपैयाँ लगानी गर्ने बताइएको छ ।

कम्पनीको वित्तीय अवस्था :
गत आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म यो लघुवित्तले २५ लाख ९ हजार रुपैयाँ नाफा संचित गरेको छ । उक्त अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२२ रुपैयाँ ८८ पैसा रहेको छ । आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको प्रतिशेयर आम्दानी २५ रुपैयाँ शून्य ९ पैसा र प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ ३४ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

कम्पनीले पहिलो कारोबारको लागि मूल्यरेञ्ज १२२ रुपैयाँ ८८ पैसादेखि ३६८ रुपैयाँ ६४ पैसा पाउने देखिन्छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि वास्तविक प्रतिशेयर नेटवर्थको ३ गुणासम्म मूल्यरेञ्ज तोक्ने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *