बालबालिकाका लागि अमेरिकाबाट आइपुग्यो खोप

Heading1 BusinessSarokar | १६ पुष २०८२, मङ्गलबार

५ देखि ११ वर्षमुनिका बालबालिकाको कोभिड–१९ विरुद्धको खोप आइतबार अमेरिकाबाट ल्याइएको छ । खोप कोभ्याक्स सुविधाअर्न्तगत निःशुल्क प्राप्त भएको हो । पहिलो लटमा आइपुगेको २२ लाख ३ हजार २ सय डोज खोप वितरणका लागि सातै प्रदेशस्थित स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा पठाइएको छ ।

स्वास्थ्य विभागले पहिलो चरणमा २७ वटा जिल्लामा पहिलो मात्रा खोप लगाउने तयारी थालेको छ । यसका लागि उपत्यकासहित काभ्रेका लागि ३ लाख ३१ हजार २ सय डोज, वाग्मती प्रदेशको चितवन, मकवानपुर र सिन्धुलीका लागि १ लाख ४२ हजार ४ सय, प्रदेश १ को झापा, मोरङ, सुनसरी र इलामका लागि ४ लाख ८ हजार, मधेसको सप्तरी, सिराह, धनुषा, महोत्तरी, पर्साको लागि ५ लाख ४२ हजार ४ सय डोज पठाएको छ । त्यस्तै गण्डकीको कास्की, नवलपरासी पूर्वका लागि १ लाख ८ सय, लुम्बनीको नवलपरासी पश्चिम, रुपन्देही, दाङ, बाँके र बर्दियाका लागि ३ लाख ९८ जार ४ सय, कर्णालीको सुर्खेतका लागि ५२ हजार ८ सय र सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, डडेलधुराका लागि १ लाख ८७ हजार २ सय डोज पठाइएको छ ।

अब प्रदेश कार्यालयले जिल्ला पठाएपछि सम्बन्धित स्वास्थ्य कार्यालयले खोप केन्द्र तोकी वितरण गर्न व्यवस्थापन मिलाइने स्वास्थ्य विभाग कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख बडेबाबु थापाले बताए । ‘हामीले असार ९ गतेदेखि वितरण गर्न तयारीअनुसार काम थालेका छौं,’ उनले भने, ‘पहिलो डोज लगाउनेले दोस्रो मात्रा ३ साताभित्र लगाउनुपर्छ । यसका लागि अर्को खोप १० देखि १४ दिनभित्र यति नै मात्रामा ल्याउने योजना छ ।’

दोस्रो चरणमा बाँकी ५० वटा जिल्लामा पहिलो मात्रा भदौ ५ देखि ११ गतेसम्म र सोही समूहलाई दोस्रो मात्रा भदौ २७ देखि असोज १ गतेसम्म लगाउने तयारी सरकारको छ । बुस्टर डोज लगाउनेबारे भने विभागले केही भनेको छैन । मुलुकमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिका करिब ३९ लाख छन् । खोपमा मिलाउने सोडियम क्लोराइड र खेर जान सक्ने अनुमान गरेर ८४ लाख मात्रा फाइजर ल्याउने सरकारको योजना छ ।

स्वास्थ्य विभागका अनुसार बालबालिकालाई दिइने खोपमा ०.९ प्रतिशत सोडियम क्लोराइड खोपमा मिसाउनुपर्छ । मिसाएपछि हल्लाउने तरिका पनि छुट्टैछ । सिरिन्ज पनि ०.२ मिलिलिटर मार्जिनको हुने भएकाले अन्य उमेर समूहलाई लगाउने जस्तो सहज नभएकाले तालिमको आवश्यकता छ । तैपनि विभागले सबै जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम भने दिन सकेको छैन । अझै २७ जिल्लाका स्वास्थ्यकर्मीलाई तालिम दिन बाँकी छ । ५० वटा जिल्लाका स्वास्थ्यकर्मीलाई मात्र तालिम सम्पन्न गरेको छ ।

स्वास्थ्य विभाग खोप शाखा प्रमुख सागर दाहालले पहिलो चरणमा खोप अभियान सञ्चालन गरिने सबै जिल्लामा तालिम सम्पन्न गरिसकेको बताए । ‘अर्को खोप लगाउने बेलासम्म सबै जिल्लामा तालिम सम्पन्न गरिसक्छौं,’ उनले भने, ‘अभिभावकले आफ्ना बालबालिकालाई खोप लगाउन सम्बन्धित वडा कार्यलयमा सम्पर्क गर्न सकिन्छ ।’

बालबालिकाको खोप उत्पादन भएको मितिले माइनस ६० देखि ९० डिग्री तापक्रमको कोल्ड रुम (फ्रिज)मा ६ महिनासम्म मात्र राख्न मिल्छ । टेकुस्थित खोप भण्डार केन्द्रमा कोच्चिएर राखेमा ३० लाख मात्रा राख्न सक्ने क्षमता छ । प्रदेशस्तरमा यो खोप भण्डार गर्न मिल्ने कोल्ड रूम छैन । त्यसैले खोप आएको मितिले एक महिनाभित्र वितरण गरिसक्नुपर्छ । नत्र खेर जान्छ । कोल्डचेन तथा भ्याक्सिन वितरण शाखा प्रमुख थापाले सबै तयारी पूरा भइसकेकाले खोप खेर नजाने बताए ।

खोप अभियान सुरु भएदेखि आइतबारसम्म ४ करोड ५१ लाख ७५ हजार १६१ जनाले खोप लगाइसकेका छन् । एक मात्रामा एक करोड ९१ लाख ४७ हजार ८ सय ४५ र पूर्ण मात्रामा २ करोड १ लाख १२ हजार ९ सय ९८ जनाले लगाइसकेको छ भने अतिरिक्त मात्रामा ५९ लाख १४ हजार ३ सय ३२ जनाले लगाइसकेको छ । बालबालिकाको लागि आएको खोपबाहेक ५ करोड ३३ लाख ८१ हजार ५ सय ७० डोज प्राप्त भइसकेको छ ।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp