कांग्रेस नेता प्रदीप गिरिको निधनमा शोक बिदा
नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य प्रदीप गिरिको निधन भएको शोकमा सिराहाको लहानमा बिदा दिइएको छ ।
नगर क्षेत्रभित्र शोक बिदा दिइएको मेयर महेशप्रसाद चौधरीले जानकारी दिए । उनका अनुसार नगरपालिकाभित्रका क्याम्पसहरू, शैक्षिक प्रतिस्ठानहरू र उद्योग बाणिज्य संघ पनि बन्द रहने छन् ।
‘उहाँ हाम्रो प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो, त्यसैले नगर मातहमतमा रहेका कार्यालयमा शोक बिदा दिइएको छ’ मेयर चौधरीले भने, ‘उद्योगी व्यवसायीहरूले पनि बजार बन्द गर्ने निर्णय गर्नु भएको छ ।’
लहान गिरिको गृहनगर हो । उनले आफूलाई भेट्न आउनेहरूसँग आफ्नो अन्त्येष्टि जिल्लाकै बस्तीपुरमा गरिदिन आग्रहसमेत गरेका थिए । तर, नेपाली कांग्रेसले पशुपतिमै उनको अन्तिम संस्कार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आज आईतबार अन्त्येष्टि गरिने भएको छ । समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको नेपाली कांग्रेसले जनाएको छ ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिसिटी हस्पिटलको शिवालयमा राखिनेछ ।
त्यसपछि, २ बजेसम्म कांग्रेस केन्द्रीय कार्यालयमा रहेको बिपी स्मृति भवनमा राखिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । घाँटीको क्यान्सरबाट पीडित गिरिको मेडिसिटी अस्पतालमा उपचारको क्रममा शनिबार राति साढे नौ बजे निधन भएको हो ।
उपचारमा संलग्न क्यान्सर रोग विशेषज्ञ डा. पंकज वर्मनका अनुसार शरीरका अन्य भागमा पनि क्यान्सर फैलिएपछि बिहीबारदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।
गिरि प्राणघातक क्यान्सर रोगबाट ग्रसित भई भारत स्थित हिन्दुजा लगायतका प्रसिद्व अस्पतालको उपचार पश्चात बिगत २६ दिनदेखि नेपाल मेडीसिटी अस्पताल भैंसिपाटिमा उपचारका लागि भर्ना भएका थिए ।
पछिल्लो तीन दिनदेखि गिरिको आईसीयूको ५५० नम्बरको बेडमा उपचार भइरहेको थियो । गिरिको स्वास्थ्य लाभको कामना गर्दै काठमाडौंमा शुक्रबार प्रार्थाना सभा आयोजना गरिएको थियो । साथै उनको जन्म स्थल सिरहाको बस्तीपुरमा समेत शुक्रबार किर्तन लगाउने र तुलसीमोठमा साँझपख बत्ति बालेर स्वास्थ्य लाभको कामना गरिएको थियो ।
सम्बन्धित खबर
डिप्रोक्स लघुवित्तले २१ प्रतिशत लाभांश दिँदै
२७ मंसिर २०८२, शुक्रबार
बुद्धको जहाजले आज बिहानै भर्यो तीन उडान
२७ मंसिर २०८२, शुक्रबार
एकीकृत समाजवादीको केन्द्रीय कमिटी ३०१ सदस्यीय, केन्द्रीय कमिटीको एक चौथाइ पोलिटब्यूरो
२७ मंसिर २०८२, शुक्रबार
