नेपाललाई जर्मनीको ८० लाख युरो सहायता
काठमाडौँ । भोटेकोशीमा आएको हालैको विनाशकारी बाढीबाट प्रभावित समुदायको उद्धार, राहत तथा दीर्घकालीन पुनर्लाभका लागि संघीय गणतन्त्र जर्मनीले नेपाललाई ८० लाख युरो बराबरको सहायता प्रदान गर्ने घोषणा गरेको छ । काठमाडौँस्थित जर्मन दूतावासका अनुसार यो सहयोगले तत्कालको आपत्कालीन मानवीय आवश्यकता र दीर्घकालीन पुनर्निर्माण दुवैलाई सम्बोधन गर्नेछ ।
नेपाल सरकारको अनुरोधमा युरोपेली युनियन नागरिक सुरक्षा संयन्त्रमार्फत ५ लाख युरोभन्दा बढीको आपत्कालीन सामग्री पठाइँदै छ । जर्मन संघीय वैदेशिक कार्यालयको आर्थिक सहयोगमा प्राविधिक राहत एजेन्सी, जर्मन लाइफ सेभिङ एसोसिएसन र थुरिन्जिया राज्यद्वारा उपलब्ध गराइएका राहत सामग्रीमा त्रिपाल, भान्साका सामान, झुल, खानेपानी उपकरण र फोल्डिङ बेड रहेका छन् । यसैगरी, तत्काल मानवीय आवश्यकता पूरा गर्न दुई नागरिक समाज संगठनलाई २ लाख युरो प्रत्यक्ष सहयोग प्रदान गरिएको छ । यसअन्तर्गत बाढी प्रभावित गर्भवती, सुत्केरी महिला तथा नवजात शिशुको स्वास्थ्य सुरक्षा, सङ्क्रमण रोकथाम, आयआर्जनका अवसर सिर्जना र विस्थापित शिविरको अवस्था सुधारमा काम गरिनेछ ।
विपद्को असर दीर्घकालसम्म रहने भएकाले जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयले थप ७३ लाख ५० हजार युरो विकास सहायता परिचालन गरेको छ । ‘जर्मन संस्था जीआईजेडमार्फत कार्यान्वयन हुने यो रकमले नेपालको स्वास्थ्य, ऊर्जा र खानेपानी आपूर्तिमा पहुँच कायम राख्न सहयोग पुर्याउनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै जलवायु तथा विपद् उत्थानशील पूर्वाधारलाई सुदृढ बनाउने नेपालको दीर्घकालीन प्रयासमा जर्मनीले साझेदारी गर्नेछ ।’
जर्मनी मुख्य योगदानकर्ता रहेको संयुक्त राष्ट्रसंघको केन्द्रीय आपत्कालीन प्रतिकार्य कोषले २५ लाख अमेरिकी डलर र युरोपेली युनियनले २५ लाख युरो मानवीय सहायता परिचालन गरेको जानकारी दिइएको छ ।
जर्मन नागरिक समाज र हजारौं सर्वसाधारणको व्यक्तिगत दानबाट समेत गैरसरकारी संस्थामार्फत राहत वितरण भइरहेको जर्मन दूतावासले जनाएको छ ।
सम्बन्धित खबर
एपोलो हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२० मंसिर २०८२, शुक्रबार
गरिमा विकास बैंक ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित
२० मंसिर २०८२, शुक्रबार
एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा
२० मंसिर २०८२, शुक्रबार
