सामाजिक सुरक्षा कोषले घातक रोग लागेमा १० लाख उपचार खर्च दिने
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई घातक रोग लागेमा बेहोर्ने भनेको १० लाख रुपैयाँसम्मको उपचार खर्च आगामी पुसदेखि लागू हुने भएको छ । सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि २०७५ मा भएको संशोधित व्यवस्थाअनुसार योगदानकर्ताले मात्र पाउने औषधि उपचार सेवा उसको श्रीमान् वा श्रीमतीले पनि पाउनेछन् ।
कार्यविधिको तेस्रो संशोधन गत भदौ ५ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्वीकृत गरेको र स्वीकृत भएको मितिले ३ महीनाभित्र लागू गर्ने व्यवस्था भएकाले पुसबाटै लागू गर्न लागिएको कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले जानकारी दिए । उनका अनुसार यो सुविधा लिन २ वर्ष योगदान गरेको हुनुपर्छ ।
घातक रोगको औषधि उपचार सुरक्षा योजनाअन्तर्गत कोषमा कम्तीमा २ वर्ष रकम जम्मा गरेको योगदानकर्ताको कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्कघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगका लागि सेवा अवधिभर १० लाख रुपैयाँसम्मको खर्च कोषले बेहोर्नेछ । उक्त सुविधा लिन योगदानकर्ताले सरकारी वा कोषले तोकेको अस्पतालमा उपचार गराउनुपर्नेछ । कोषमा आबद्ध भएको विदेशमा कार्यरत श्रमिकले पनि यो सुविधा पाउनेछ । घातक रोगको औषधि उपचार सुविधा कोषमा योगदान गर्न छाडेको २ वर्षसम्म लागू हुनेछ ।
कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण शुरू भएको ७ वर्षसम्म पनि घातक रोगसम्बन्धी सुविधा उपयोग गर्न सकिने व्यवस्था लागू गरिँदै छ ।
कोषले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना र रोजगार प्रवर्द्धन कार्यक्रममा आबद्ध श्रमिकलाई समेत कोषको कार्यक्रममा ल्याउँदै छ । आगामी शैक्षिक सत्रबाट सन्तति छात्रवृत्ति लागू हुँदै छ । योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ ले कोषमा योगदान गर्ने श्रमिकका बालबच्चाले चिकित्सा विज्ञान, इन्जिनीयरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटेल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिसकेको छ । यो सत्र शुरू भइसकेकाले यस वर्ष लागू गर्न अप्ठ्यारो भएको र अर्को शैक्षिक सत्रबाट लागू गरिने कोषका उपकार्यकारी निर्देशक पन्थीले बताए । कोषले दोस्रो संशोधनमा योगदानकर्तालाई शैक्षिक सापटी, घरजग्गा सापटी, व्यवसायका लागि सापटी र अन्य सुविधा पनि थपेको थियो ।
सामाजिक सुरक्षा कोषमा योगदानकर्ताले अहिलेसम्म २४ अर्ब २३ करोड रुपैयाँ जम्मा गरिसकेका छन् । १७ हजार ४ सय रोजगारदाता, ३ लाख ६८ हजार योगदानकर्ता सामाजिक सुरक्षा योजनामा सहभागी भइसकेका छन् । कोषका अनुसार जम्मा भएको धेरैजसो रकम मुद्दती खातामा राखिएको छ । सापटी दिन पनि शुरू गरिएको छ । यसले गर्दा सामाजिक सुरक्षा योजनाप्रति आकर्षण बढिरहेको कोषको दाबी छ ।
सम्बन्धित खबर
नेपालको कृषि तथा पशु विज्ञान शिक्षाको क्षेत्रमा अग्रणी संस्था HICASTमा विभिन्न कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु
सरुवा–बढुवाका लागि ‘सोर्स फोर्स’ लगाउने काम बन्द गर्न अर्थ सचिव मरासिनीको आग्रह
विनियमावली बनाउँदा कर्मचारीको सेवा, सुविधा र वृत्ति विकासलाई ध्यान दिइनेछः गभर्नर
