समस्याग्रस्त सुपर लघुवित्तको व्यवस्थापन राष्ट्र बैंकद्वारा नियन्त्रण
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिएको सुपर लघुवित्त वित्तीय संस्थाको व्यवस्थापन नियन्त्रणमा लिएको छ । राष्ट्र बैंकले माघ २२ गते एक सूचना प्रकाशित गरी सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिइएको जानकारी गराएको हो। सुपर लघुवित्तको व्यवस्थापन नियन्त्रणमा लिई राष्ट्र बैंकबाट ‘नियुक्त अधिकारी’ (व्यवस्थापन समूह) नियुक्त गरी सोही समूहमार्फत संस्थापको व्यवस्थापन सञ्चालन गर्ने व्यवस्था गरिएको सूचनामा उल्लेख छ।
गत भदौ २२ गते राष्ट्र बैंकले सुपर लघुवित्तलाई समस्याग्रस्त घोषणा गरेको थियो। केन्द्रीय बैंकले सुुपर लघुवित्तलाई सचेतका लागि ३५ दिनको समयसीमा दिएर समस्याग्रस्त घोषणा गरेको थियो। तर, यो संस्थाले तोकिएको समयावधिसम्म आफ्नो वित्तीय अवस्था सुधार्न नसक्दा र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेका कारण राष्ट्र बैंकले व्यवस्थापन नियन्त्रणमा लिएको हो।
राष्ट्र बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरणका आधारमा गरेको स्थलगत निरीक्षण तथा विशेष निरीक्षणबाट उक्त संस्थामा सञ्चालक समितिका अध्यक्ष तथा सदस्यलगायतले व्यक्तिगत फाइदाका लागि नक्कली ऋणी खडा गरेर ऋण प्रवाह गरेको पाएको थियो। उनीहरुको प्रत्यक्ष संलग्नतामा संस्थाको हितविपरित कार्य भएको विभागको ठम्याइ थियो।
संस्थाका अध्यक्ष, सञ्चालक र उच्च व्यवस्थापका कर्मचारीले आफ्नो फाइदाका लागि मिलेमतोमा करोडौँ रुपैयाँ आर्थिक अनियमितता गरेको र गत असोजमा संस्थाको प्रथमिक पुँजीकोष ३४.३० प्रतिशत र पुँजीकोष ३२.६५ प्रतिशतले ऋणात्मक देखिएको राष्ट्र बैंकले जनाएको छ।
संस्थाका सञ्चालकहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५ को दफा १०० को उपदफा (२) (ग) मा भएको व्यवस्था बमोजिम ५–५ लाख जरिवानासमेत गरिएको थियो। सुुुपर लघुुवित्त कम्पनी ऐन २०६३ बमोजिम २०७५ चैत २४ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता भएको थियो। सो संस्था २०७६ पुुसमा फिंगोबाट लघुवित्तमा परिणत भएको थियो। जसको नाम पछि सुुुपर लघुुवित्त थियो। यो लघुवित्तको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा छ। संस्थाको अध्यक्षमा किरण चौधरी भने कामु प्रमुख कार्याकारी अधिकृतमा बुद्धिराम चौधरी थिए।