चौतर्फी दबाबपछि बैंक ब्याजदर घट्दै
बैंकहरु ब्याजदर अर्को भएको भन्दै यतिबेला चौतर्फी दबाब सिर्जन भएको छ । एकातिर उद्योगी, व्यवसायीहरु लामो समयदेखि ब्याजदरको विरुद्धमा आन्दोलनमा उत्रिएका छन् ।
चौतर्फी दबाब सिर्जन हुन थालेपछि राष्ट्र बैंकले ब्याजदर घटाउने नीति अवलम्बन गर्ने भएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको चापलाई न्यून गर्न केन्द्रीय बैंकले अघिल्लो वर्षदेखि नै मागमा संकुचन ल्याउने गरी ब्याजदर वृद्धिको नीति लिँदै आएको थियो । चौतर्फी दबाबपछि केन्द्रीय बैंक ब्याजदर बढाउने नीतिबाट क्रमशः पछि हट्न लागेको हो ।
सोमबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्यसचिव शंकरदास बैरागी, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, गृहसचिव विनोदप्रकाश सिंह, अर्थसचिव तोयम रायलगायत पदाधिकारीलाई बोलाएर छलफल गरेका थिए । बैठकमा बैंकका सञ्चालकहरूको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका पदाधिकारीसमेत उपस्थित थिए ।
शुक्रबारदेखि नै ब्याजदर घटाउने उपायको खोजी गर्ने भन्दै प्रधानमन्त्री केन्द्रीय बैंकका गभर्नरलगायतका सरोकारवालासँग छलफल गरेका थिए । राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले मंगलबार महत्वपूर्ण निर्णय सार्वजनिक गर्ने तयारी रहेको बताएका छन् । उनले समसामयिक विषयमा पत्रकार सम्मेलनसमेत राख्ने बताए । त्यस्तै, परिसंघले पनि सोमबार प्रधानमन्त्री कार्यालयमा भएको छलफलको विषयमा जानकारी गराउने भन्दै पत्रकार सम्मेलन डाकेको छ ।