अनलाइनबाट शेयर कारोबार गर्नेको संख्या बढ्दो, टीएमएस सेवा लिनेको संख्या २३ लाख नाघ्यो

२६ भाद्र २०८१, बुधबार १०:४४

पछिल्लो समय अनलाइनमार्फत शेयर कारोबार गर्नेको संख्या बढ्दै गएको छ । अनलाइन शेयर कारोबारका लागि गत साउनमा मात्रै ७२ हजार ९४० जना ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस)मा जोडिएका छन् । यससँगै साउनसम्ममा टीएमएस प्रयोगकर्ता २३ लाख ३१ हजार ३५० पुगेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रवक्ता मुराहरि पराजुलीले बताए ।

विशेषगरी धितोपत्रको दोस्रो बजारमा कारोबार गर्न टीएमएसमा जोडिनेको संख्या बढिरहेको नेप्सेले जनाएको छ । शेयर बजार उकालो लागेसँगै टीएमएसमा आबद्ध हुनेहरू बढेको प्रवक्ता पराजुलीले बताए ।‘बजार बढेको समयमा दैनिक करीब २ लाख ५० हजार जतिले टीएमएस चलाउँछन् भने घटेका बेला ५०–६० हजारले प्रयोग गर्छन््,’ पराजुलीले भने ।

नयाँ सरकार बनेसँगै दुई महीनायता शेयर बजार बढ्दो क्रममा छ । कुनै बेला आईपीओ फर्म भर्न दिनभर लाइन बसेर आवेदन दिनुपथ्र्यो । यस्तै दोस्रो बजारमा शेयर खरीदविक्रीका लागि ब्रोकर कार्यालय गएर ‘अर्डर’ दिनुपथ्र्यो । समयसँगै अनलाइन कारोबार शुरू भयो, जसलाई सहज बनाएको छ टीएमएसले ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार डिम्याट खाता संख्या ६३ लाखभन्दा बढी पुगेको छ । मंगलवारको तथ्यांकअनुसार यस्तो खाताको संख्या ६३ लाख ८५ हजार ३९६ पुगेको छ । त्यसैगरी मेरो शेयर खाता खोल्नेको संख्या ५४ लाख ४२ हजार ८३२ रहेको छ ।

के हो टीएमएस ?

ट्रेड म्यानेजमेन्ट सिस्टमको संक्षिप्त रूप नै टीएमएस हो । अनलाइन शेयर कारोबार गर्न यसको प्रयोग गरिन्छ । आईपीओ बेच्नदेखि दोस्रो बजारमा सूचीकृत कम्पनीका शेयर कारोबार गर्न टीएमएस जरुरी हुन्छ । टीएमएस आएपछि लगानीकर्ताले इन्टरनेट भएका जुनसुकै ठाउँबाट पनि सहजै शेयर कारोबार गर्न थालेका छन् । टीएमएस आउनुअघि लगानीकर्ता शेयर खरीदविक्रीका लागि ब्रोकर कार्यालयमै पुग्नुपथ्र्यो । टीएमएसले ब्रोकर कार्यायल धाउनुपर्ने अवस्था अन्त्य गरिदिएको छ ।

टीएमएस सेवा कसरी लिने ? 

टीएमएस खोल्न शुरूमा ब्रोकर कार्यालय जानुपर्छ । नेपालमा धितोपत्र दलाल व्यवसायीको संख्या ९४ पुगेको छ, जसमध्ये ९२ ओटाले ब्रोकरको काम गर्दै आएका छन् भने दुईओटाले स्टक डिलरको काम गरिरहेका छन् । नेपालभरको जुन ब्रोकर कार्यालयमा गएर पनि टीएमएस सेवा लिन सकिन्छ । तर, टीएमएस लिँदा ब्रोकर चयनमा ध्यान दिनुपर्ने लगानीकर्ता सुझाउँछन् । सेवा छिटो छरितो दिने, खरीद गरेको शेयर समयमै डिम्याट खातामा पठाइदिने र बेचेको शेयरको भुक्तानी समयमै दिने ब्रोकर राम्रा हुने उनीहरू बताउँछन् ।

टीएमएस सेवा सञ्चालन गर्न कुनै शुल्क लाग्दैन । ब्रोकर कार्यालयमा केवाईसी फर्म अपडेट गराएपछि टीएमएसका लागि फर्म भर्नुपर्ने हुन्छ । त्यसपछि सोही दिन वा भोलिपल्टसम्म इमेलमा टीएमएसको युजर नेम र पासवर्ड आउँछ । ब्रोकर कार्यालयको नम्बर ब्राउजरमा टीएमएस लगइन गर्दा नै उल्लेख हुन्छ । यसरी युजर नेम र पासवर्ड आइसकेपछि शेयर खरीदविक्री गर्न सकिन्छ ।

टीएमएसबाट अर्डरमा क्लिक गरेर सेल भन्ने अप्सनमा गइसकेपछि कम्पनीको नाम, विक्री गर्न चाहेको शेयरको कित्ता र मूल्य लेखेर विक्री गर्न सकिन्छ । यसरी विक्री भए वा नभएको तत्कालै देख्न सकिन्छ । शेयरमूल्य तत्कालको मूल्यभन्दा अधिकतम र न्यूनतम २ प्रतिशतसम्म राख्न सकिन्छ । त्यसैगरी टीएमएसबाट कुनै कम्पनीको शेयर खरीद गर्दा पनि बाई अर्डरमा गएर कम्पनीको नाम, खरीद गर्न चाहेको कित्ता र मूल्य राखेर ‘सबमिट’ गर्न सकिन्छ । तर, यसका लागि खरीद गर्न लागेको कुल रकमको २५ प्रतिशत रकम टीएमएसमा धितोका रूपमा राख्नुपर्ने हुन्छ ।

यसरी टीएमएसबाट खरीद गरेको शेयर ‘टि प्लस टु’ अर्थात् कारोबार दिन छाडेर बाँकी दुई दिनभित्र खातामा आइसक्नुपर्ने कानूनी व्यवस्था छ । यस्तै शेयर विक्री गरेबापतको पैसा ३ दिनभित्र बैंक खातामा आइसक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *