परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सरकार र चीनबिच हालै सम्पन्न बिआरआई सम्झौतामा ऋण लिने भन्ने विषय कतै उल्लेख नभएको स्पष्ट परेकी छिन्। नेपाल र चीनबिच हालै भएको उक्त सम्झौताका बारेमा नेपालमा बुझ्दै नबुझी टीकाटिप्पणी भइरहेको उनको भनाइ थियो।
इन्टरनेसनल कोर्ट अफ जस्टिस् (आइसिजे) मा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट धारणा राख्न नेदरल्यान्ड प्रस्थान गर्नुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भनिन्, ‘हामीले बिआरआईअन्तर्गत सहयोगमा आधारित परियोजनामा हस्ताक्षर गरेका हौँ, ऋण लिने भन्ने कुरा कतै छैन।’
सो सम्झौताका बारेमा बुझ्दै नबुझी टिप्पणी गरिएको उनको भनाइ थियो। बिआरआई सम्झौताअनुसारका परियोजनाहरू पनि दुवै देशको सहमतिबाट अघि बढाइने विषय स्पष्टसँग लेखिएकाले नेपालको सहमतिअनुसार नै सो सम्झौता अघि बढ्ने पनि उनले स्पष्ट पारिन्। उनले भनिन्, ‘ऋण लिने भन्ने कुरा त लिने पक्षको मञ्जुरी र आग्रहमा हुने हो नि। हामीले लिँदैनौँ, हामीलाई आवश्यक छैन भने दिने पक्षले पनि कहाँ जबर्जस्ती गर्छ त? त्यसैले सरकारले ऋण लिने गरी सम्झौतामा हस्ताक्षर गर्यो भन्नु बचपना मात्र हो।’
नेपालले चीनसँग बिआरआई सम्झौताअन्तर्गत अनुदानमा परियोजनाहरू निर्माण गर्ने गरी हस्ताक्षर गरेको र त्यो पनि सुरक्षा वा अन्य कुनै विषयमा नभएर ‘ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ्सअन्तर्गत सहमति गरेको उनले जानकारी गराइन्।
नेपाल अहिले ऋण लिन सक्ने अवस्थामा छैन भन्ने कुरा आफूले चिनियाँ विदेशमन्त्रीसँग पनि राखेको र उनीहरू यस विषयमा सहमत भएपछि निकै मिहेनत गरेर नेपालले बिआरआरआईअन्तर्गत नै को-अपरेसन फ्रेमवर्क निर्माण गरी दुवै पक्षको सहमतिअनुसार हस्ताक्षर भएको मन्त्री डा. राणाले बताइन्।
उनले बिआरआईअन्तर्गत नेपालले चीनसँगको व्यापार, हवाई एवं स्थलगत कनेक्टिभिटी, पूर्वाधार निर्माण तथा आर्थिक सहायताजस्ता विषयलाई प्राथमिकतामा राखेको बताइन्।
मन्त्री डा. राणा अन्तर्राष्ट्रिय अदालत (आइसिजे) मा जलवायु परिवर्तनका कारण नेपाललाई परेको असर र नेपालले पाउनुपर्ने क्षतिपूर्तिबारे कुरा उठाउन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गरेकी हुन्। अन्तर्राष्ट्रिय अदालतमा नेपालले पहिलोपटक नेपालमा जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था र धारणा राख्न लागेको हो।
विश्वका धनी तथा विकसित मुलुकहरूले कार्बन उत्सर्जन गर्दा नेपालजस्ता मुलुकलाई परेको असरका साथै यसका कारण नेपालले पाउनुपर्ने क्षतिपूर्तिका विषयमा मन्त्री डा. राणाले यही २४ मंसिरमा सो अदालतमा कुरा उठाउँदै छिन्। उनको प्रतिनिधिमण्डलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा र परराष्ट्र मन्त्रालयका अधिकारीहरू सहभागी छन्।