Banking Khabar
Heading1

बीमा प्राधिकरण अध्यक्षको योग्यता विवाद सर्वोच्चको पूर्ण इजलासमा

June 3, 2025
सेयर:

नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको नियुक्ति विवाद सर्वोच्च अदालतको पूर्ण इजलास पुगेको छ। सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले सोमबार यस विवादलाई पूर्ण इजलास पठाउने आदेश गरेको हो।

ओझालाई सरकारले गत फागुन १३ गते बिमा प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको थियो। उनको योग्यतामा प्रश्न उठाउँदै अधिवक्ता इन्दिरा धमलाले चैत १७ गते रिट दायर गरेकी थिइन्। प्राधिकरणको अध्यक्ष बन्न ओझाको योग्यता नपुग्ने भएकाले बदर गर्नुपर्ने रिटमा माग गरिएको छ। उनलाई तत्काल काम गर्न रोक्नका लागि पनि अन्तरिम आदेश माग गरिएको थियो।

यसअघि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र नित्यानन्द पाण्डेयको इजलासले ओझालाई नियुक्त गर्न लिइएका आधारसम्बन्धी कागजात झिकाउन आदेश दिएको दिएको थियो।

यसमा लिखित जवाफ प्राप्त भइसकेकाले अन्तरिम आदेशबारे छलफल गर्नु नपर्ने र गम्भीर विवाद समावेश भएकाले पूर्ण इजलासबाटै निरुपण हुनुपर्ने भन्दै सोमबारको इजलासले पूर्ण इजलास पठाउने आदेश गरेको हो। अब कम्तीमा तीन न्यायाधीशको इजलासबाट यस विवादको निरुपण हुनेछ।