आज बाल दिवस मनाइँदै, राष्ट्रपतिले दिए शुभकामना

Heading3 BusinessSarokar | १५ पुष २०८२, सोमबार

२९ भदौ, काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय बाल दिवसका अवसरमा समस्त नेपाली बालबालिका र अभिभावकहरूलाई शुभकामना व्यक्त गरेका छन्। नेपालले बालअधिकार महासन्धी अनुमोदन गरेको दिनलाई आधार मानी हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाइँदै आएको हो।

यस वर्षको बाल दिवसको नारा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ रहेको छ। राष्ट्रपति पौडेलले सन्देशमार्फत बालबालिकाका शिक्षा, स्वास्थ्य, सुरक्षा र विकासमा ध्यान दिँदै आवश्यक लगानीको सुनिश्चितता गर्नुपर्ने अपेक्षा व्यक्त गरे।

राष्ट्रपतिको सन्देशमा भनिएको छ कि नेपालको संविधानले बालबालिकाको मौलिक हक सुनिश्चित गरेको छ र यी अधिकारको कार्यान्वयनका लागि सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, अभिभावक, विद्यालय र अन्य सरोकारवालाबीच एकीकृत र समन्वयात्मक भूमिका आवश्यक छ।

पौडेलले अझै पनि केही बालबालिका अधिकारबाट वञ्चित भएको तथ्य उजागर गर्दै सबै सरोकारवालालाई बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार रोक्न आग्रह गरे। साथै, गुणस्तरीय शिक्षा, पोषणयुक्त आहार, सुरक्षित खानेपानी, सरसफाइ, खोप र बालमैत्री स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए।

राष्ट्रपतिले बालबालिकाको संरक्षण, विकास र सहभागितामा सबै पक्षको सक्रिय योगदान अपेक्षा गर्दै यो दिवसले सबैमा प्रेरणा जगाओस् भन्ने शुभकामना व्यक्त गरे।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp