बैंकमा कर्जा माग सुस्त, राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने

Heading2 BusinessSarokar | १५ पुष २०८२, सोमबार

काठमाडौं, ३ असोज — दशैं–तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा पनि आर्थिक गतिविधि विस्तार हुन नसक्दा बैंकहरूले कर्जा प्रवाह बढाउन सकेका छैनन्। यसको असरस्वरूप बैंक प्रणालीमा बढी तरलता जम्दा नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ।

राष्ट्र बैंकका अनुसार बिहीबार निक्षेप संकलन उपकरण बोलकबोलमार्फत १० दिनका लागि यो तरलता प्रशोचन गरिनेछ। पछिल्ला दुई आर्थिक वर्षदेखि निरन्तर अधिक तरलता देखिँदै आएकाले निक्षेप संकलन उपकरण र स्थायी निक्षेप सुविधामार्फत प्रशोचन भइरहेको छ।

भदौ २३ र २४ गतेको ‘जेन जी आन्दोलन’ बाट आर्थिक र भौतिक संरचनामा परेको क्षतिले बजारमा थप अनिश्चितता बढेको र कर्जाको माग झनै सुस्त हुने अनुमान गरिएको छ। राष्ट्र बैंकले ब्याजदर करिडोरको तल्लो सीमा अनुरूप स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराइरहेको छ।

भदौ ३१ को तथ्यांकअनुसार राष्ट्र बैंकले प्रशोचन गरेर मौज्दात रहेको तरलता ६ खर्ब ७१ अर्ब ७० करोड रुपैयाँ छ। चाडपर्वको समयमा समेत कर्जाको माग नबढ्दा अझ बढी तरलता जम्ने देखिएपछि थप ९० अर्ब रुपैयाँ प्रशोचन गर्न लागिएको हो।

सेयर गर्नुहोस्: Facebook Twitter WhatsApp