एसबानद्वारा पूँजीबजार सुधार प्रतिवेदनको स्वागत, तत्काल कार्यान्वयनको माग

२३ आश्विन २०८२, बिहीबार ०३:४६

स्टक ब्रोकर एशोसिएशन अफ नेपाल (एसबान) ले पूँजीबजार सुधार कार्यदलको प्रतिवेदनको स्वागत गर्दै उक्त प्रतिवेदनले दिएका सुझावहरू तत्काल कार्यान्वयनमा लैजान सरकारसँग जोडदार माग गरेको छ।

अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा गठित कार्यदलले बुझाएको प्रतिवेदनपछि एसबानले पूँजीबजार सुधारका आवश्यक व्यवस्थाहरू छिटो कार्यान्वयन गर्न सम्बन्धित निकायहरूलाई आग्रह गरेको हो।

खनालको निर्देशनमा धितोपत्र बोर्डका कार्यवाहक कार्यकारी निर्देशक रुपेश केसीको संयोजकत्वमा गठित कार्यदलले पूँजीबजार सुदृढीकरणका लागि विस्तृत सुझावहरू दिएको थियो। अर्थमन्त्रीले प्रतिवेदन प्राप्त गरेसँगै धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगायत निकायलाई आवश्यक तयारी गर्न निर्देशनसमेत दिएका छन्।

एसबानका अध्यक्ष सागर ढकालका अनुसार कार्यदलले प्रस्तुत गरेको प्रतिवेदन पूँजीबजार सुधारको दिशामा ऐतिहासिक कदम सावित हुने बताइएको छ।
‘सुझाव कार्यदलले अहिलेको अवस्थामा पूँजीबजार वृद्धि र विकासका लागि शेयर धितो कर्जाको सीमा हटाउने, बैंक तथा वित्तीय संस्थामाथिको लगानी बन्देज हटाउने, नयाँ औजारहरू भित्र्याउने, नेप्सेको पुनर्संरचना तथा निजीकरणजस्ता सुझाव दिएको छ, जुन एकदमै स्वागतयोग्य छ,’ ढकालले भने।

उनका अनुसार विगतमा बनेका अधिकांश कार्यदलका प्रतिवेदनहरू कार्यान्वयनको चरणमा पुग्न नसके पनि यो पटक तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ।
‘अर्थमन्त्रीले सुधारका लागि जसरी अग्रसरता देखाउनुभएको छ, उहाँलाई ब्रोकर एशोसिएशनको तर्फबाट धन्यवाद दिन चाहन्छौं,’ ढकालले भने, ‘अब त्यसैगरी द्रुत गतिमा कार्यान्वयनमा लैजाने हो भने नेपालको पूँजीबजारको भविष्य अत्यन्तै उज्जवल हुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *