Banking Khabar
Heading1

एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्तासहित सकियो नाइमा मोबिलिटी एक्स्पो

August 17, 2026
सेयर:

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको सहभागितासहित सम्पन्न भएको छ।

साउन २६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ६ दिने एक्स्पोको अन्तिम दिन मात्रै ३० हजारभन्दा बढीले अवलोकन गरेको नाइमाले जनाएको छ। आयोजकका अनुसार उद्घाटनको दिन २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार र पाँचौँ दिन ४२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए।

नाइमाले एक्स्पोमा डेढ लाख अवलोकनकर्ता आउने अपेक्षा गरेको थियो। तर अपेक्षाभन्दा ३० हजारभन्दा बढी मानिस एक्स्पोमा सहभागी भएका हुन्।

५५ भन्दा बढी ब्रान्ड, ५३ नयाँ उत्पादन

नाइमा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्डको सहभागिता, एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ता र ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु एक्स्पोका प्रमुख उपलब्धि भएको बताइन्।

उनका अनुसार एक्स्पोलाई नयाँ सवारीसाधन र प्रविधिको प्रदर्शनमा मात्र सीमित नगरी ज्ञान तथा सिकाइको प्लेटफर्मका रूपमा विकास गर्ने प्रयास गरिएको थियो।

“यो अन्त्य होइन, सुरुवात हो,” अध्यक्ष वैद्यले भनिन्। उनले आगामी दिनमा अझ ठूलो र बलियो एक्स्पो आयोजना गर्ने लक्ष्य रहेको बताइन्।

बुकिङ र इन्क्वायरी पनि उत्साहजनक

एक्स्पोमा अवलोकनकर्ताको संख्या मात्र नभई सवारीसाधनप्रतिको ग्राहकको चासो, इन्क्वायरी तथा बुकिङसमेत अपेक्षाभन्दा राम्रो भएको आयोजकले जनाएको छ।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अपेक्षाभन्दा धेरै मानिसले एक्स्पो अवलोकन गरेको र इन्क्वायरी तथा बुकिङ पनि उत्साहजनक रहेको बताए।

नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले ठूलो संख्यामा भएको सहभागितालाई अटोमोबाइल उद्योगका लागि सकारात्मक संकेतका रूपमा व्याख्या गरे। नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले एक्स्पोलाई ‘सुपरहिट’ भएको बताए।

सवारीसाधन प्रदर्शनसँगै बहस र संवाद

यसपटकको एक्स्पोलाई सवारीसाधन प्रदर्शनमा मात्र सीमित नगरी विभिन्न समसामयिक विषयमा छलफल तथा अन्तरक्रियासमेत आयोजना गरिएको थियो।

समापनका दिन आयोजित नाइमा मोबिलिटी संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटाले सहभागिता जनाएका थिए।

एक्स्पो अवधिभर एआई तथा अटोमोटिभ प्रविधि, ब्याट्री रिसाइकल, इथानोल ब्लेन्डिङ, वित्त तथा बीमा, मोबिलिटीको वर्तमान र भविष्य, लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीलगायत विषयमा छलफल गरिएको थियो।

दिगो र प्रविधिमैत्री यातायातमा जोड

नाइमाका अनुसार नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्धन गर्ने उद्देश्यले एक्स्पोको दोस्रो संस्करण आयोजना गरिएको हो। एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।

नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसँगै सिकाइ सत्र, सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिइएको बताए। उनका अनुसार अवलोकनकर्ताको सन्तुष्टि नै एक्स्पोको सफलताको प्रमुख मापक हो।

एक्स्पोमा विभिन्न बैंक, बीमा कम्पनी, प्रविधि तथा चार्जिङ कम्पनी, शैक्षिक संस्था, राइड सेयरिङ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका संस्थाहरूको समेत साझेदारी रहेको थियो।

नाइमाले ठूलो संख्यामा अवलोकनकर्ताको सहभागिता र नयाँ उत्पादनप्रति देखिएको चासोले नेपालको अटोमोबाइल तथा मोबिलिटी बजारप्रति ग्राहकको रुचि अझै बलियो रहेको देखाएको जनाएको छ।