नेप्सेका सीईओ चन्द्रसिंह साउदले दिए राजिनामा
८ भदौ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद राजिनामा दिएका छन् । उनले अहिले साँझ ५ बजे नेप्सेको कार्यालयमा नै पत्रकार सम्मलेनको आयोजना गरेर राजिनामा दिएको जानकारी दिएका हुन् । उनको कार्यकाल आगामी असोज २२ गते सकिँदै थियो ।
अर्थले उनको राजिनामा स्वीकृत गरे सँगै उनले नेप्सेको कार्यालयबाटै राजिनामा दिएको घोषणा गरेका हुन् । सर्वोत्तम सिमेन्टको कारोबारका विषयमा मन्त्रालयले छानविन गरिरहेकोले उक्त छानिविनमा सहयोग गर्नका लागि आजैका मितिदेखि लागु हुने गरि राजिनामा दिएको जानकारी गराएका छन् ।
सर्वोत्तम सिमेन्टको भित्री कारोबार गरेको प्रमाणित भए पछि उनलाई अर्थमन्त्रालयले पटक पटक स्पष्टिकरण माग गरेको थियो । साउद सहित नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्म ढुङ्गानाले पनि आफ्नो छोरीको नाममा सर्वोत्तम सिमेन्टको गोल्डेन शेयर खरिद गरेका थिए । साउदको राजिनामा सँगै ढुङ्गाना पनि नैतिक दवावमा परेका छन् ।
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले यस विषयमा विज्ञ सहित राखेर ५ सदस्यीय छानविन समिति बनाईएको र समितिले छानविन गरिरहेको र यस विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र छानविन समितिको प्रतिवेदन आएपछि कारवाही गरिने बताएका थिए ।