गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अन्तिम चरणमा
काठमाडौं– रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य अन्तिम चरणमा रहेको छ। विमानस्थलको भौतिक प्रगति ९८ प्रतिशत भइसकेको छ भने वित्तीय प्रगति पनि ७७ प्रतिशत भइसकेको हो।
अब विमानस्थलमा साना केही प्राविधिक कामहरु मात्रै बाँकी रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए।
प्रमुख इन्जिनियर अधिकारीका अनुसार अब टर्मिनल बिल्डिङ भित्रको फलसिलिङसँग समबन्धित कामहरु र फर्निचर र फर्निसिङ्सका कामहरु बाँकी छन्। उनले क्यालिब्रेशन फ्लाइटका लागि जडान गरेका उपकरणहरुलाई सही सूचना दिने तरिकाले सेट गर्ने कामहरु कोरोना भाइरसका कारण थाइल्याण्डबाट प्राविधिक नआउँदा रोकिएको उनले बताए।
प्राविधिक कामहरुलाई सम्पन्न गर्नको लागि सरकारले थाइल्याण्ड सरकारसँग कुटनीतिक पहल थालेको पनि प्रमुख इन्जिनियर अधिकारीले बताए।
‘अहिले आयोजना अन्तर्गतका मुख्य भौतिक संरचना निर्माणको काम करिब सम्पन्न भइसकेको छ, यद्यपी हामीसँग केही साना प्राविधिक कामहरु बाँकी छन्,’ उनले भने, ‘सामान्यतया हेर्दा आयोजनाको कामहरु टुंगिदो क्रममा हो। मात्र एक, दुई वटा कामहरुले गर्दा आयोजना कम्प्लिट रुपमा सम्पन्न नभएको अवस्था छ।’
थाइल्याण्डबाट प्राविधिक ल्याउने वातावरण नभए अन्य देशबाट ल्याउन सकिन्छ कि भनेर सरकार अगाडि बढीरहेको उनले बताए।
प्रमुख इन्जिनियर अधिकारीले अहिले बनिरहेको टर्मिनल बिल्डिङ रिलेटिभ रुपमा सानो भएको सरकारको अनुमान रहेकोले यसलाई ठूलो बनाउनुपर्ने विषयमा अध्ययन भइरहेको बताए।
उनले यो टर्मिनल बिल्डिङले ४ सय सेवाग्राहीलाई मात्र सेवा दिनसक्ने भएकोले अन्तर्राष्ट्रि विमानस्थलका लागि यो पर्याप्त नहुने भन्दै नेपाल सरकार र नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ टर्मिनल बिल्डिङ बनाउने विषयमा अध्ययन गरिरहेको बताए।
प्रमुख इन्जिनियर अधिकारीले अहिलेका लागि आवश्यक पर्ने प्राविधिक जनशक्ति ल्याउने हो भने हप्ता १० दिनमै सबै काम सकिने बताए।
‘टर्मिनल बिल्डिङ रिलेटिभ अलिकति सानो लाग्ने भएको र क्यापासिटीको हिसावले पनि प्रतिघण्टा ४ सय प्यासेन्जरलाई सर्भिस दिनसक्ने भएको कारणले गर्दा इन्टरनेशनल एयरपोर्टको लागि यो इन्टरनेशनल टर्मिनल बिल्डिङ रिलेटिभ सानो हुन्छ कि भनेर सरकारले अध्ययन अनुसन्धान अगाडि बढाएको छ,’ उनले भने, ‘करिव–करिव डिजाइन टुंगिदो क्रममा होला, बाँकी कामहरु अघि बढीसकेपछि मात्रै कहिलेबाट काम शुरु हुन्छ भन्ने कुराहरु यकिन गर्न सकिन्छ।’
उनले नेपाललाई आवश्यक पर्ने जनशक्ति आए हप्ता देखि १० दिनसम्मको काम रहेको बताए।