दोहोरो अंकले घट्यो नेप्से, कारोबार ५ अर्बमा खुम्चियो
काठमाडौं- यो साता लगातार दुई दिन बढेको सेयरबजार तेस्रो दिन मंगलबार दोहोरो अंकले घटेको छ। आइतबार ६१ अंक र सोमबार ०.२७ अंकले बढेको पुँजीबजार मापक परिसूचक नेप्से आज (मंगलबार) १८.५४ अंकले घटेको हो। यससँगै नेप्से २९२९.२९ विन्दुमा ओर्लिएको छ।
कारोबार भएकामध्ये ५९ वटा कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको मूल्यमा गिरावट आएको छ। पाँचवटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ।
यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले बढेर ५४५.६७ विन्दुमा ओर्लिएको छ।
आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। राष्ट्रिय बिमा कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ५.५६ प्रतिशतका दरले गुमाएका छन्।
आज सबै उपसमूहको परिसूचक नकारात्मक बनेको नेप्सेले जनाएको छ।