लिलामीमार्फत साढे तीन करोड कित्ता सेयर विक्री गर्दै एचआईडीसीएल
काठमाडौं– हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लिलाम बढाबढमार्फत साढे ३ करोड कित्ताभन्दा बढी सेयर बिक्री गर्ने भएको छ।
कम्पनीले संस्थापक समूहको ३ करोड ३० लाख कित्ता र सर्वसाधारण समूहको ३२ लाख २९ हजार ७२४ कित्ता गरी कुल ३ करोड ६४ लाख २९ हजार ७२४ कित्ता सेयर लिलाम बिक्री गर्न लागेको हो।
कम्पनीको सेयर खरिदका लागि इच्छुक व्यक्ति, संस्था वा कम्पनीले आवेदन दिन सक्ने जनाइएको छ। सो सेयरमा असोज ७ गतेदेखि १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ। सेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ।
लगानीकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ। संस्थापक समूहको सेयरमा लगानीकर्ताले न्यूनतम १ करोड कित्ताका लागि आवेदन दिनुपर्नेछ भने सर्वसाधारण तर्फको सेयरमा न्यूनतम १ सय कित्ता सेयरका लागि आवेदन दिनुपर्ने कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।