दशैंको मुखमा विद्यालय खोल्ने निर्णय
७ असोज, काठमाडौं । स्वास्थ्य मापदण्ड पूरा गरेका विद्यालयले १० गतेदेखि कक्षा सञ्चालन गर्नसक्ने काठमाडौं महानगरपालिकाले निर्णय गरेको छ।
महानगरपालिकाको शिक्षा शाखाको बैठकले आइतबारदेखि विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो ।
बुधबार महानगरका प्रमुख एवं समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले विद्यालय सञ्चालन गर्दा न्यूनतम रुपमा पालना गर्नुपर्ने २७ बुँदे मापदण्डसहित यस्तो निर्णय गरेको महानगरले जनाएको छ ।शिक्षा मन्त्रालयले बनाएको मापदण्डलाई समेटेर महानगरले मापदण्ड बनाएको जनाएको छ ।
कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ ।
यदि शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा महानगरपालिकाले खोप लगाउने व्यवस्था समेत गर्ने शिक्षा शाखाले जनाएको छ ।