पुँजीबृद्धि नगरेको भए अहिले बैंकहरु समस्यामा पर्ने थिए – पूर्व गभर्नर डा. नेपाल
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरंजीवि नेपालले राष्ट्र बैंकको स्वयत्ततालाई बलीयो बनाउनुपर्ने बताएका छन् । बैंकिङ खबरसँगको कुराकानीमा उनले बैंकवित्तको मेरुदण्डका रुपमा रहेको केन्द्रीय बैंकलाई विभिन्न क्षेत्रबाट कम्जोर बनाउन खोजिएकोमा चिन्ता ब्यक्त गरेका हुन् । राष्ट्र बैंक आफैमा सक्षम र स्वयत्त भएको उल्लेख गर्दै उनले राष्ट्र बैंक ऐन दोस्रो संसोधन विधेयकले राष्ट्र बैंकलाई कम्जोर बनाउन सक्ने आशंका व्यक्त गरेका छन् । उनले आफ्नो कार्यकाल भरी कुनै पनि व्यक्तिको दवावमा काम नगरेको पनि उल्लेख गरे । त्यत्तिबेला बैंकहरुको पुँजीबृद्धि गरेका कारण अहिलेको अबस्थामा बैंकहरु कोरोनाका कारण पनि अत्याधिक समस्यामा नपुग्ने बताए ।
पूर्व गभर्नर डा चिरंजीवि नेपालकै शव्दमा
मेरो कार्यकाल निकै कठिन र चुनौतीपूर्ण ढंगले वित्यो । पाँच बर्षको अबधिमा हरेक बर्ष सरकार र अर्थमन्त्री मात्रै फेरिए । भुकम्प र भारतीय नाकाबन्दीको चर्को सामना गर्नुपर्यो । बैंकहरुको पुँजीबृद्धि गर्ने जुन लक्ष लिएर म अघिँ बढेँ, त्यतिबेला धेरै नै विरोध भयो । राजनीतिक शक्तिदेखि, संसदमै यसको विरोध भयो । अधिकाँस बैंकहरु पुँजी बृद्धि असम्भव भएको भन्दै २ अर्बबाट ८ अर्ब पुराउन नसकिने भन्दै विरोध गर्न थाले । तर कालान्तरमा उक्त कदम नेपालका बैंक वित्त जोगाउने र बैंकिङ क्षेत्रबाट लगानी बढाउने काममा निकै महत्वपूर्ण रह्यो । त्यतिबेला पुँजीबृद्धि नगरेको भए अहिलेको यो कठिन अबस्थामा बैंकहरु बन्द हुने अबस्थासम्म आइपुग्दथे । किन भने प्रयाप्त पुँजी नभएपछि त बैंकले पनि लामो समय थेग्न सक्दैनन् । त्यति बेला विरोध भएपनि आखिर सबै बैंकवित्तले पुँजी बृद्धि गरे । ८ अर्ब मात्रै होइन १९ अर्बसम्म पुँजी पुराएका छन् । १० अर्बको हाराहारीमा सबैजसो बैंकले पुँजी पुराएका छन् । यसले अन्तत बैंकहरुलाई सक्षम र बलियो बनायो । नेपाली बैंकिङ इतिहासमा पुँजीबृद्धि गर्ने कदम ऐतिहासिक कदम थियो । र उक्त कदम सही समयमा भएको थियो । जसले गर्दा अहिले पनि बैंकहरुले भन्ने गर्दछन् धन्न पुँजी बढाइदिनुभयो, नत्र त हामी समस्यामा पर्ने रैछम भनेर ।
नेपालमा वित्तीय साक्षरताको अबस्था कम्जोर थियो । विश्वमै जति धेरै वित्तीय साक्षरता त्यति धेरै विकास हुने हो । यही अबधारणका साथ बैंकिङ पहुँच बढाउने कार्यकै लागि हरेक स्थानीय तहसम्म बैंक पुराउने काम भयो । करिव करिव सबैजसो स्थानीय तहमा बैंकको सहभागिता रहेको छ । यसले देशैभरी पैसा परिचालन गर्ने, वित्तीय पहुँच बढाउने काम गर्यो । त्यतिवेला ३५ प्रतिशत नागरिक बैंकिङ पहुँचमा थिए भने अहिले ६१ प्रतिशत बैंकिङ पहुँचमा आएका छन् । स्कूल स्कूलका विद्यार्थीले पनि बैंकिङ क्षेत्रमा महत्व दिन थालेका छन् । वालवालीकाका नाममा समेत बैंक खाता संचालन हुन थालेका छन् । बचत गर्ने बानीको विकास भएको छ । यसले गर्दा वित्तीय पहुँच र वित्तीय साक्षरतता बढ्दै गएको छ । सिंगो देशको विकास हुनका लागि आम नागरिकमा वित्तीय ज्ञान हुन जरुरी छ । वित्तीय ज्ञान भएको व्यक्तिले मात्रै उद्यमशीलता गर्न सक्छ, पैसा परिचालन गर्न सक्छ । अहिले गाउँ गाउँका व्यक्तिमा पनि वित्तीय शिक्षा बढ्दै गएको छ । जसले गर्दा बैंक वित्त वा लघुवित्तबाट कर्जा लिएर काम गर्न थालेका छन् । उद्यमी बन्न थालेका छन् । कतिपय सफल मात्रै होइन नमुना नै बन्न पुगेका छन् । वित्तीय शिक्षाको अति आबश्यक छ । यसलाई मैले महत्व दिनुको कारण नै आम नागरिकलाई आत्मनिर्भर र सक्षम बनाउनु हो ।
मैले गरेका केही निर्णयहरुले नेपालको बैंकिङ क्षेत्रलाई सफलतातिर लगेको छ । म बैंकहरु, सरकारका पदाधिकारीहरु वा मन्त्रीहरु कसैसँग पनि नजिक भएर काम गरिँन । उनीहरुसँग नजिक भएर काम गर्दा उनीहरुका कुरा धेरै मान्नुपर्ने अबस्था आउँथ्यो । त्यसैले पनि मैले आफ्नै तरीकाले काम गरेँ । सबैजसकोको कुराहरु सुन्थेँ, तर आफैले निर्णय गर्ने व्यक्ति हुँ म । मलाई कसैले यो गर वा त्यो गर भनेर गर्ने व्यक्ति म होइन ।
राम्रो, प्रभावकारी र उपयोगी कामहरु गर्ने व्यक्तिहरु मुलुकमा कम छन् । तर राम्रो कामको मूल्याङकन जहिले पनि हुन्छ । मैले गभर्नर हुँदा धेरै चुनौती मोलेरै काम गरेको थिएँ । म गभर्नर हुने वित्तीकै भूकम्प आयो, भारतको नाकाबन्दी भयो ।
नेपाली बैंकिङ क्षेत्रमा म गभर्नर हुनुअघि केही बैंक वित्त डुव्ने अबस्थामा थिए । मर्जर नीति र पुँजीबृद्धिको नीति पछि सबै वित्तीय संस्थाहरु बलिया बन्न थाले । कम्जोरहरु मर्जरपछि विलय भए । मर्जरको नीतिले कम्जोरलाई बलियोमा गाभ्ने अबस्था सृजना भयो । जसले गर्दा बैंकहरु डुव्ने अबस्थामाट माथि उठ्न सफल भए ।
अहिलेको समय टेक्नोलोजीको समय हो । यही कुरालाई मध्यनजर गरेर मैले बैंकिङ क्षेत्रलाई डिजिटलाइजेशन गर्ने जमर्को गरेको हुँ । जसले गर्दा घरबाटै बैंकमा खाता खोल्न सकिनेसम्मको विकास भयो । युवा पुस्ता टेक्नोलोजीमा खेल्न थालेको छ । सजिलो र सरल भएका कारण हामीहरु क्यासलेस कारोबार सम्म पुग्नुपर्छ भन्ने मेरो लक्ष थियो । त्यसको प्रयाप्त विकास भएको छ । टेक्नोलोजीको सुरक्षाका लागि पनि बैंकहरु सवल बन्दै गएका छन् । यसले गर्दा विस्तारै फाइनान्सीयल टेक्नोलोजीको विकास र प्रयोग बढ्दै गएको छ ।
(कुराकानीमा आधारीत)