क्रिप्टो र हाइपर फन्डमार्फत पुँजी पलायन भैरहेको छ : अर्थमन्त्री

२८ माघ २०७८, शुक्रबार ०४:०७
    अर्थमन्त्री जनार्दन शर्माले भर्चुअल मुद्राको अवैध कारोबार, हाइपर फन्डलागायत अवैध नेटवर्किङ धन्दा, अनलाईन जुवा र सट्टेबाजी (ग्याम्बलिङ) मार्फत पुँजी विदेश पलायन भइरहेको बताएका छन्। बिहीबार चालु आर्थिक वर्ष २०७८/७९ को बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् ।

    प्रविधिको प्रयोगमार्फत भैरहेको अवैध कारोबार अर्थतन्त्रको नयाँ चुनौतीका रुपमा देखिएको उनले बताए । यस्तो समस्याबारे अध्ययन गर्नका लागि नेपाल राष्ट्र बैंकलगायत सम्बन्धित निकाय र सरोकारवाला रहेको कार्यदल गठनको तयारी सरकारले गरिरहेको शर्माले बताए । क्रिप्टो, हाइपर फन्डको प्रभावकारी नियमन र अनुगमन गरी वैदेशिक मुद्रा विचलन हुनबाट राेक्ने उनको भनाइ छ ।

    विकास खर्च बढ्न नसक्नुमा संरचनाको सुदृढीकरण प्रमुख समस्या रहेको र विभिन्न ऐन नियमहरु बाधकका रुपमा रहेको अर्थमन्त्री शर्माले बताए । आयोजनाको प्राथमिकीकरण हुन नसकेको र श्रोत सुनिश्चितता बिनै योजना बनाउँदा समस्या देखिएको उनले बताए । अब अर्थमन्त्रालयबाट समन्वय र सहकार्यमा कुनै कसुर बाँकी नराख्ने मन्त्री शर्माको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *