ब्याजदर वृद्धिले अर्थतन्त्र जोखिममा

२ फाल्गुन २०७८, सोमबार ०३:१९

नेपाल उद्योग परिसंघले ब्याजदर वृद्धिले अर्थतन्त्रमै जोखिम बढेकाे भन्दै आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै परिसंघले ब्याजदर नियन्त्रण गर्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपमा दिँदै आएकाे दरमा फागुनदेखि लागू हुनेगरी १० प्रतिशत विन्दुले ब्याज बढाएका थिए । यसले कर्जाकाे ब्याजदर पनि बढ्नेछ ।

परिसंघले भनेको छ, ‘अर्थतन्त्रका विद्यमान समस्या समाधानका उपाय अवलम्बनका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, निजी क्षेत्र र सम्पूर्ण सरोकारवालाहरुले सक्दो प्रयास गरिरहेको समयमा बैंक तथा वित्तीय संस्थाबाट ब्याजदर वृद्धिको निर्णय आउनुले अर्थतन्त्र थप जोखिममा पर्ने संकेत गरेको छ।’

ब्याजदर वृद्धिबाट बजारमा तरलता थप भइ हालको समस्या समाधान हुने अवस्था नरहेको परिसंघको दाबी छ । ‘यसले निक्षेपको स्थानान्तरण मात्र हुने र वित्तीय स्थायित्वमा जोखिम बढ्ने हाम्रो बुझाई छ’, परिसंघले भनेको छ, ‘यसको प्रतिकूल असर कोभिड लगायत विविध कारणले समस्यामा परेका उद्योग, कृषि, पर्यटन व्यवसायमा पर्ने निश्चित छ।’ ब्याजदर बढ्दा लगानी महँगो भई बजार मूल्य बढ्ने र उपभोक्तालाई समेत नकारात्मक असर पर्ने परिसंघको ठम्याई छ। वर्तमान अवस्थामा शिथिल प्राय: भएका उद्योग व्यवसाय थप कमजोर बन्ने भएकाले मुलुकको अर्थ व्यवस्था जोगाउन सचेत हुनुपर्नेमा परिसंघले ध्यानाकर्षण गराएको छ ।

सरकारी स्वामित्वका ठूला बचत कर्ताहरूको संस्थागत निक्षेपलाई पुरानै ब्याजमा कायम राख्ने, विद्यमान संकटको समयमा वाणिज्य बैंकहरूले पूरा गर्नुपर्ने नियमनकारी अनुपातहरूलाई केन्द्रीय बैंकले केही समयका लागि खुकुलो बनाउनुपर्ने परिसंघको सुझाव छ । तरलता व्यवस्थापनमा सहजता हुँदा लघु, घरेलु, साना, मझौला तथा ठूला उद्योगलाई राहत पुग्ने, रोजगारी सिर्जनामा समेत सहयोग गर्ने परिसंघको भनाइ छ।

ब्याजदरलाई स्थिर गर्ने तथा त्यसलाई पारदर्शी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले मासिकरूपमा आगामी महिनाको ब्याजदर प्रकाशन गर्ने नियम लागू गरेको छ। यसलाई प्रत्येक तीन महिनामा मात्र ब्याजदर परिवर्तन गर्न पाउने व्यवस्था गर्न परिसंघले राष्ट्र बैंक समक्ष अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *