आईपीओ निष्कासनको तयारीमा यी ७ लघुवित्त
सात लघुवित्त वित्तीय कम्पनीहरुले आईपीओ निष्कासनको तयारी गरेका छन् । कुल २३ लाख ४ हजार ५८६ कित्ता आईपीओ निष्कासनको तयारी गरिएको हो ।
७ ओटा कम्पनीमध्ये तीन कम्पनीले आईपीओ निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।
सिवाईसी नेपाल लघुवित्त, आर्दश लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
आवश्यक प्रक्रिया पूरा गरेर बोर्डबाट स्वीकृति पाएपछि कम्पनीहरुले आईपीओ निष्कासन गर्नेछन् । बाँकी ४ ओटा कम्पनीले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका छन् ।
अभियान लघुवित्त वित्तीय संस्था, धौलागिरी लघुवित्त वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र बिपिडब्लु लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्कासन गर्नका लागि विक्री प्रबन्धक नियुक्त गरेका हुन् ।
यी ४ ओटा कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर सेबोनमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछन् । ७ ओटा कम्पनीमध्ये सबैभन्दा बढी अभियान लघुवित्त वित्तीय संस्था ९ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्ने प्रक्रियामा रहेको हो ।
दोस्रोमा सिवाइसी नेपाल लघुवित्त ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारीमा रहेको छ । यी ७ कम्पनीमध्ये सबैभन्दा कम आर्दश लघुवित्तले ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरेको हो ।