सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खोल्नेको संख्या ५० लाख नजिक
पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । आईपीओबाट लगानीकर्ताहरूले राम्रो आम्दानी हुने देखेपछि सेयर बजाप्रति सर्वसाधारणको क्रेज बढेको छ । आजकाल रेष्टुरेन्ट र चिया पसलदेखि स्कुल कलेजका कक्षा कोठासम्म सेयर बजारको चर्चा हुने गरेको देखिन्छ ।
कम मेहेनत गरी राम्राे मुनाफा हासिल गर्न सकिने लगानीकाे उपयुक्त ठाउँ सेयर बजारलाई मानिन्छ । सरकार तथा कम्पनीहरुले आफूलाई आवश्क पुँजी संकलनका लागि जारी गर्ने वित्तीय औजार नै सेयर हो । आईपीओ, हकप्रद, ऋणपत्र, बन्ड, सामूहिक लगानी कोष आदि सेयरका उदारणहरु हुन् । सेयरलाई धितोपत्र पनि भन्न सकिन्छ । कुनै पनि कम्पनीको सेयर हुनु भनेको त्यो कम्पनीमा आफ्नो स्वामित्व हुनु हो ।
सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ४९ लाख ७२ हजार ९ सय २ पुगेकाे छ । जसमध्ये, ४० लाख ८२ हजार ६ सय १५ जना आवद्ध छन् ।