मुलुकको अर्थतन्त्रको अवस्था भयावह छैनः राष्ट्र बैंक

२५ चैत्र २०७८, शुक्रबार ०५:११

नेपाल राष्ट्र बैंकले मुलुकमा समष्टिगत अर्थतन्त्रको अवस्था भयावह नरहेको जनाएको छ । बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता गुणाकर भट्टले वित्तीय क्षेत्रमा देखा परेको तरलताले मुद्रास्फीतिमा दबाबका साथै मूल्य वृद्धिमा चाप परेकाले अर्थतन्त्रमा केही प्रभाव परेको भए पनि अर्थतन्त्रका आधार त्यति कमजोर नरहेको बताउनुभयो ।

रुस र युक्रेनको युद्धका कारण विश्व अर्थतन्त्रमा प्रभाव परेको बताउँदै उहाँले भन्नुभयो, ‘यसको प्रभाव मुलुकमा देखिएको छ । उत्पादन क्षेत्रमा आवश्यक कच्चापदार्थको आपूर्ति प्रभावित भएको छ । आपूर्ति प्रणालीलाई समस्या परेको छ ।’

पेट्रोलियम पदार्थको मूल्यवृद्धि पनि भएको बताउँदै निर्देशक भट्टले विदेशी विनिमय सञ्चिति गत वर्षको तुलनामा केही कम भएको भए पनि डराउनुपर्ने अवस्था नरहेको तथा कोभिडपछि विश्व अर्थतन्त्र सामान्य अवस्थामा जाने क्रममा रहेकाले त्यसको सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो ।

विदेशी विनिमय सञ्चितिलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय तहबाट हुने विलासी वस्तु आयातमा कडाइ गरिएको बताउँदै उहाँले भन्नुभयो, ‘गत वर्ष हामीसँग १२ महिनाको वस्तु तथा सेवा आयात धान्नसक्ने वैदेशिक मुद्राको सञ्चिति थियो । अहिले साढे छ महिना धान्नसक्ने अवस्थामा छ । शोधान्तरण स्थिति र भुक्तानी सन्तुलन हेर्दा मुलुकबाट बाहिर रकम बढी गएकाले सञ्चितिमा दबाब छ ।’ शोधान्तरण स्थिति २४७ अर्बले घाटामा छ ।

निर्देशक भट्टले गत आवमा ५० अर्बको चामल आयात गरेको तथ्याङ्क उल्लेख गर्दै यो वर्षको आठ महिना मात्रै हेर्दा ३७ अर्बको चामल आयात भएको जानकारी दिनुभयो । उहाँले चालू आवको दोस्रो चौमासिकमा करिब २७ अर्बको तरकारी, १६ अर्बको फलफूल आयात गरेको बताउनुभयो ।

उहाँले आर्थिक गतिविधि सामान्य अवस्थामा फर्किएकाले वस्तु, सेवा र कर्जाको माग बढेको बताउँदै अहिले पर्यटन क्षेत्र सलबलाउन थालेको, प्रत्यक्ष विदेशी लगानीमा राम्रो प्रभाव आएको, विप्रेषण सुधारोन्मुख रहेको जानकारी दिनुभयो । निर्देशक क्रिप्टो करेन्सीको कारोबार अध्ययन गर्न अर्थ मन्त्रालयले कार्यदल बनाएको र सोहीअनुसार कार्य अगाडि बढेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *