रिभर फल्स पावरको आईपीओ खुल्ला, अपर हेवाखोलाको जेठ १० देखि खुल्ने
रिभर फल्स पावर लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।
निष्काशन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ ११ गते हुनेछ। आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै मेरो शेयर वेब तथा एप मार्फत पनि आवेदन दिन सकिनेछ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
यसैबीच अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले जेठ १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले ५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। सो शेयरमा आयोजना प्रभावित क्षेत्र अर्थात संखुवासभा जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा जेठ २४ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ८ गतेसम्म लम्बिनेछ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपाले कम्पनीलाई केयरएनपी डबल बी आईएस रेटिङ्ग प्रदान गरेको छ। यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले प्रभु बैंकको खाँदबारी शाखा, ग्लोबल आइएमई बैंकको चैनपुर शाखा, सिद्धार्थ बैंकको खाँदबारी शाखा, प्राइम कमर्सियल बैंकको खाँदबारी, तुम्लिङटार, सभापोखरी शाखा र नेपाल बङ्गलादेश बैंकको पाँचखपन शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।