एम अधिकारी गभर्नर होइनन् भने फोटोसहितको परिचय सार्वजनिक गर्न चुनौती
नेपाली कांग्रेसका नेताहरूले एमालेको विभागका सदस्य रहेका गभर्नर महाप्रसाद अधिकारीले नैतिकताका आधारमा तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । बिहीबारको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै पूर्वउपसभापति गोपालमान श्रेष्ठले प्रतिपक्ष दलका गभर्नरले मुलुकको कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग नगर्ने बताए ।
‘देशको अर्थतन्त्र यस्तो कमजोर बनेको अवस्था छ, यसबारे सरकारले ध्यान पुर्याओस् । यस्तो बेला गभर्नर नै पार्टीको विभागको सदस्य भएको कुरा आएको छ, यस्तो यथार्थ के हो ? पार्टीले निर्णय लिनुपर्छ,’ श्रेष्ठले बैठकमा भनेको उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘गभर्नरले नैतिकताका आधारमा तत्काल पदबाट राजीनामा दिनुपर्छ ।’
गभर्नर अधिकारी छद्म नाम राखेर नेकपा एमालेको आर्थिक विभागको सदस्य रहेर काम गरिरहेको खुलेपछि त्यसबारे कांग्रेसको बैठकमा प्रश्न उठेको हो ।
केन्द्रीय सदस्य रामहरि खतिवडाले एमालेले दाबी गरेजस्तो गभर्नर अधिकारी पार्टीको विभागको सदस्य नभएको भए एम अधिकारीको फोटोसहितको परिचय सार्वजनिक गर्न चुनौती दिए ।
‘गभर्नर महाप्रसाद अधिकारी हुन्, यदि एमालेको विभागका सदस्य रहेका एम अधिकारी गभर्नर होइनन् भने एमालेले ती को एम अधिकारी हुन् ? फोटो सार्वजनिक गरोस्,’ उनले भने, ‘गभर्नरले पनि एमालेमा संलग्न नभएको प्रमाण सार्वजनिक गर्नुपर्छ ।’