बजेटमा छुट दिएसँगै विद्युतीय गाडीको आयातमा वृद्धि
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा गत आर्थिक वर्ष २०७८/७९ मा विद्युतीय चारपांग्रे सवारी साधनको आयातमा वृद्धि भएको छ । सरकारले विद्युतीय गाडी आयातमा लाग्ने भन्सार तथा अन्तःशुल्कमा छुट दिएपछि एक वर्षमा १ हजार ८०७ ओटा विद्युतीय गाडी भित्रिएका हुन् ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८ सम्म न्यून मात्रामा नेपाल भित्रने गरेको विद्युतीय गाडीमा सरकारले गत आर्थिक वर्षको बजेटमार्फत भन्सार र अन्तःशुल्कमा छुट दिएको थियो । अघिल्लोे आर्थिक वर्षमा २६१ मात्रै विद्युतीय चारपांग्रे सवारीसाधन आयात भएको थियो ।
विभागको तथ्यांकअनुसार नेपालमा सबैभन्दा धेरै विद्युतीय गाडी चीनबाट भित्रिएका छन् । चीनबाट १०० किलोवाटका १६७ र १५० देखि २०० किलोवाट क्षमताका ६९६ ओटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।
त्यस्तै चीनपछि भारतबाट धेरै विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भारतबाट १०० किलोवाट क्षमताका ६९६, दक्षिण कोरियाबाट १०० किलोवाट क्षमताका १३२ र फ्रान्सबाट सोही क्षमताको एउटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । यस्तै बेलायतबाट १०० देखि १५० किलोवाट क्षमताका १३, दक्षिण कोरियाबाट १०० देखि २०० किलोवाट क्षमताका ५२ ओटा विद्युतीय गाडी आयात भएको छ । यस्तै जापान र बेलायतबाट सोही क्षमताका क्रमशः ७८ र चारओटा गाडी नेपाल आएका छन् ।
यसैगरी बेलायतबाट २०० देखि ३०० किलोवाट क्षमताका चार र ३०० क्षमताभन्दा माथिका दुईओटा विद्युतीय गाडी नेपाल भित्रिएका छन् । १ वर्ष अवधिमा १ हजार ८०७ ओटा विद्युतीय गाडी नेपाल भित्रँदा रू.१ अर्ब ४३ करोड ९२ लाख राजस्व संकलन भएको छ ।
सरकारले देशमा विदेशी मुद्रा सञ्चितिमा कमी भएको भन्दै डिजेल र पेट्रोलबाट सञ्चालित गाडी आयातमा रोक लगाउँदा तथा बजेटमा छुट दिँदा विद्युतीय गाडीको आयातमा वृद्धि भएको व्यवसायीहरुले बताएका छन् ।